जनकपुर र कञ्चनरूपमा सवारी दुर्घटनाले दुई जनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशमा मंगलबार दुई पृथक सडक दुर्घटनामा परी एक वृद्ध र एक बालकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित सडकखण्डमा मधेश प्रदेश ०२–००१ क २२४० नम्बरको टिपरले ज.८ प ७७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका–१० निवासी ८० वर्षीय चलितर मण्डल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घटनामा घाइते मोटरसाइकल चालकलाई थप उपचारका लागि जनकपुरकै काव्या अस्पतालमा पठाइएको छ। दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, सप्तरीको कञ्चनरूप नगरपालिका–२ महादेवपट्टीस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख ५४३८ नम्बरको यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा ८ वर्षीय आयन शेखको घटनास्थलमै ज्यान गएको हो। मृतक सोही स्थानका रोजित शेखका छोरा हुन्।

दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...