आज्ञा खबर
सर्लाही
सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्ने व्यक्ति महोत्तरीको बर्दिवास नगरपालिका–१०, खयरमारा निवासी अन्दाजी ६० वर्षीय बद्री भुजेल हुन्। सर्लाही र महोत्तरीको सीमावर्ती बाँके खोलानजिकैको घारिबथान क्षेत्रको झाडीमा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
स्थानीयवासीका अनुसार भुजेल श्रीमती र सन्तानविहीन थिए। उनी विगत केही वर्षदेखि गाउँघरमै डुलेर हिँड्ने गर्दथे।
प्रहरीका अनुसार भुजेललाई फूलजोर बाबा साझेदारी वन क्षेत्रको पलौट आसपासमा गाईवस्तु चराउन गएका स्थानीयले हिजो साँझ घारिबथानतर्फ जाँदै गरेको देखेका थिए। तर, आज दिउँसो सोही क्षेत्रमा गाईवस्तु चराउन गएका अर्का व्यक्तिले उनलाई मृत अवस्थामा फेला पारेका हुन्।
प्रहरी निरीक्षक जोशीका अनुसार भुजेलको मृत्यु शारीरिक थकाइका कारण बाटोमै बिसाउन बसेकै ठाउँमा भएको अनुमान गरिएको छ।
घटनास्थलमा स्थानीयबासी र जनप्रतिनिधिको रोहबरमा मुचुल्का उठाई, शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको अस्थायी प्रहरी पोष्ट कालिन्जोर, घारिबथानले जनाएको छ।
