आज्ञा खबर
बर्दिवास
असार महिनाको प्रचण्डगर्मी, कोसाथमा मंगलवार नगरपालिकाको पशु सेवा कार्यालय अगाडिको हलचलकै बीच एक विशेष कार्यक्रम सम्पन्न भयो। बर्दिवास नगरपालिका अन्तर्गत १३ वटा पशुपालक कृषि फर्मलाई जाडो–गर्मी दुवै मौसममा उपयोगी काउ म्याट वितरण गरिएको हो। यो कार्यक्रम पशुपालन व्यवसायमा समर्पित किसानहरूको श्रमप्रति केवल सम्मान मात्रै थिएन, बरु उत्पादनशीलता अभिवृद्धिका लागि सघाउ पु¥याउने व्यावहारिक सहयोग पनि थियो।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सहभागी किसानहरूलाई सम्बोधन गर्दै, बर्दिवास नगरपालिका कृषिमा आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहेको उल्लेख गरे। “हामी राहतलाई पुरस्कार सरह मान्छौं,” भन्दै उनले थपे, “थोरै किसान भए पनि तिनीहरूको उत्पादन क्षमतामा बृद्धि गर्ने खालका कार्यक्रम ल्याउनु नै हाम्रो प्राथमिकता हो।”
उनको भनाइ अनुसार नगरपालिकाले कृषिमा आधुनिक उपकरण, तालिम, पशुचौपाया र सेवा वितरणमार्फत बिस्तारै आत्मनिर्भरता निर्माण गर्ने दृढता राखेको छ। गाई–भैँसी पालनलाई विशेष प्राथमिकतामा राख्नु, काउ म्याट वितरण जस्ता सूक्ष्म तर प्रभावशाली योजनाबाट प्रष्ट हुन्छ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले राहत वितरणको पारदर्शिता सुनिश्चित गर्न स्थानीय सरकारले विशेष अनुगमन अभियान थालेको जानकारी दिए। “हामी राहत वितरणअघि प्रत्येक किसानको घरमै पुगेर अवस्थाबारे निरीक्षण गर्छौं,”अधिकारीले बताए।
उनको भनाइ अनुसार केही किसान समूहमा आबद्ध नभएकै कारण राहत वितरणबाट वञ्चित भएका छन्, तर आगामी दिनमा तिनीहरूलाई पनि समेट्न सक्रिय पहल भइरहेको छ। उनले विशेषगरी दलित र विपन्न वर्गका किसानलाई गाई–भैँसी पालनका माध्यमबाट जिविकोपार्जनमा सहयोग पुगोस् भन्ने सोचले नगरले कृषि तथा पशु पालनमा बजेट विनियोजन गरिएको जनाए।
यसैगरी बर्दिवास नगरपालिका–५ टृटेश्वरकी पशुपालक अगुवा किसान सरु थापा यादब भन्छिन्, नगरपालिकाको यो सानो सहयोगले पशु पालनमा धेरै परिवर्तन ल्याउँछ।”
यस्तै, बर्दिवास–५ चेरुकै अर्का किसान संतोष पौडेलको भनाई यस्तो छ ।
काउ म्याट सामान्यतया गाई–भैँसीलाई सुस्तरी आराम गर्न दिइने विशेष रबरयुक्त थलो हो, जसले जाडोमा चिसो जमिनको असर कम गर्छ र गर्मीमा तातोबाट जोगाउँछ। पशुपालनमा यस्ता म्याटको प्रयोगले चौपायाको स्वास्थ्यमा सकारात्मक असर पार्छ, जुन अन्ततः दूध उत्पादन र प्रजनन क्षमतामा वृद्धि गर्छ।
पशुसेवा शाखाका प्राविधिकहरू भन्छन्, “पशुको खोर सफा, सुक्खा र आरामदायी राख्न सकिएमा त्यसको प्रत्यक्ष असर उत्पादनमा देखिन्छ। काउ म्याटले खुट्टा सुक्खा राख्छ, थकाइ घटाउँछ, र पशुलाई बिसौनी दिन्छ।”
बर्दिवास नगरपालिकाको वर्तमान नेतृत्वले कृषि, पशुपालन, सिँचाइ, जस्ता क्षेत्रलाई जोड दिदै नीतिगत सुधार गर्न अग्रसर भएको देखिन्छ। जहाँ राज्यको बजेट केवल ठूलो पूर्वाधारमा सीमित नबसी, साना तर व्यावसायिक सुधारहरूमा प्रयोग भइरहेको छ।
हाल नगरपालिकाले पशु बीमा, कृत्रिम गर्भाधान, सघन तालिम कार्यक्रम र डिजिटल पशु दर्ता प्रणाली जस्ता कार्यक्रम अगाडि बढाएकोे छ। सोही सन्दर्भमा काउ म्याट वितरण कार्यक्रम नगरको एक रणनीतिक सोचको झलक हो।
बर्दिवास नगरपालिकाले काउ म्याट वितरणजस्ता सूक्ष्म तर प्रभावकारी कार्यक्रममार्फत आफ्नो नीति स्पष्ट पारेको छ—कृषकलाई आत्मनिर्भर बनाउने र कृषि–पशुपालनलाई नगरको आर्थिक मेरुदण्डमा रूपान्तरण गर्ने। पशुपालकहरूमा उत्साह र जनप्रतिनिधिहरूमा प्रतिबद्धता देखिएपछि आगामी दिनहरूमा नगरभित्र ‘समृद्ध किसान, समुन्नत बर्दिवास’ को सपना साकार नहोला भन्न सकिन्न।





































