आज्ञा खबर
बर्दिवास
बेरोजगारीको चुनौतीसँग जुधिरहेका युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले बर्दिवासमा दुईदिने माछापालन तालिम सम्पन्न गरिएको छ। बर्दिवास नगरपालिकाको आर्थिक सहयोग तथा मिथिला पुनरुत्थान केन्द्र, जलेश्वर–२ को आयोजनामा सञ्चालन भएको तालिमले कृषिमा नयाँ सम्भावनाको ढोका खोल्ने संकेत गरेको छ।

तालिममा बर्दिवास क्षेत्रका ३० जना युवाहरुले सहभागिता जनाएका थिए। उनीहरू दुई दिनसम्म माछापालनको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्न व्यस्त देखिए। तालिम सहजिकरणको जिम्मा कृषि क्याम्पस, ललितपुरका अनुभवी प्रशिक्षक सलिन कुमालले सम्हालेका थिए। कुमालले माछापालनको वैज्ञानिक तरिका, पोखरीको व्यवस्थापन, प्रजाती छनोट, आहार व्यवस्थापन, रोग नियन्त्रण लगायतका विषयमा सहभागीलाई व्यावहारिक ज्ञान दिएका थिए।
तालिमको समापन समारोहमा बोल्दै बर्दिवास नगरपालिकाका प्रवक्ता विजय कुमार महतोले युवाहरूमा स्वरोजगारको चेतना फैलन थालेकोमा खुसी व्यक्त गरे। “तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सकियो भने, माछापालन केवल सीप होइन, आय आर्जनको भरपर्दो माध्यम बन्न सक्छ,” उनले भने, “हामी स्वरोजगारमुखी कार्यक्रमहरूलाई अझै प्राथमिकतामा राख्दै जानेछौं।”

महतोका अनुसार बर्दिवास नगरपालिकाले युवाहरूलाई कृषि तथा पशुपालनमा आधारित तालिममार्फत आत्मनिर्भर बनाउने योजना अघि बढाइरहेको छ। “नगरपालिकाको लक्ष्य भनेको युवालाई जागिर खोज्ने होइन, रोजगार सिर्जना गर्ने नेतृत्वदायी क्षमता दिने हो,”उनले स्पष्ट पारे।
त्यसैगरी तालिममा सहभागी हुन पाएका युवाहरू निकै उत्साहित देखिन्थे। बर्दिवास–१२ का आशोक कोईराला भन्छन्, “म पहिले माछापालन बारे खासै जान्दिनथेँ। मेरो तिनवटा पोखरी छन तर माछापालन सम्बन्धि ज्ञन नभएका कारण पोखरी ठेक्कामा दिएको छु अब मैले पोखरी निर्माणदेखि माछा हुर्काउने विधि बुझ्न पाएँ। आगामी दुईवर्ष पोखरी ठेक्काको सम्भौता सकिन्छ अनि आफैले माछा पालन सुरु गर्ने लक्ष्य छ।”
त्यस्तै, बर्दिवास ११ कि महिला सहभागी नबिना पोखरेल भन्छिन्, “महिलाहरू पनि अब घरमै बसेर माछा पालन जस्ता उद्यम गर्न सक्छन् भन्ने विश्वास बढेको छ। तालिमले मलाई आत्मबल दिएको छ।”

मिथिला पुनरुत्थान केन्द्रका अध्यक्ष निबेश मंडलका अनुसार तालिम आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु र कृषि–पशुपालनमा आधारित आर्थिक सशक्तिकरणको अभियानलाई तीव्र पार्नु हो। उनले भने, “नगरपालिकाको सहकार्यबिना यस्तो कार्यक्रम सम्भव हुने थिएन। अब हामी सहभागीहरूलाई निरन्तर सघाउँदै लैजानेछौं।”
बर्दिवासको भौगोलिक बनावट, जमिनको उब्जाउपन र पर्याप्त जलस्रोतले माछापालनका लागि अनुकूल सम्भावना बोकेको मानिन्छ। यसै सन्दर्भमा कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय तहको प्राथमिकतामा राखेर लगानी गरिए, बर्दिवास स्वरोजगारको केन्द्र बिन्दु बन्न सक्ने विज्ञहरूको विश्वास छ।
नगरपालिकाले यस्ता तालिमहरूलाई एकपटकको कार्यक्रममा सीमित नगरी निरन्तरता दिनुपर्ने आवश्यकताबारे धेरैले औंल्याएका छन्। प्रशिक्षक सलिन कुमाल भन्छन्, “सीप सिकाउने मात्रै होइन, त्यसलाई अभ्यासमा उतार्न प्राविधिक साथ, अनुगमन र बजार व्यवस्थापनमा पनि स्थानीय तहले सहयोग गर्नुपर्छ। तिनै तत्वहरूको समन्वयबाट मात्र दीगो स्वरोजगार सम्भव हुन्छ।”

बर्दिवासमा सम्पन्न माछापालन तालिमले कृषिमा स्वरोजगारको नयाँ सम्भावना प्रस्तुत गरेको छ। स्थानीय तहको सहयोग, संस्थागत समन्वय र युवाको लगनशीलताले आगामी दिनमा बर्दिवासलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने संकेत गरेको छ। यो तालिम एउटा सुरुवात हो—अझ प्रभावकारी कार्यान्वयन, निरन्तर सीप विकास र बजार पहुँचको संयोजनबाट बर्दिवासका युवाहरूको जीवनस्तर बदल्न सकिने छ।





































