आज्ञा खबर
बर्दिवास
जग बलियो भए मात्रै घर बलियो हुन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै बर्दिवास नगरपालिका वडा नम्बर १३ ले प्राथमिक तहका बिद्यार्थीहरूलाई लक्षित गर्दै झोला, पोशाक, जुत्ता र साइकल वितरण गरेको छ। शैक्षिक प्रोत्साहनको उद्देश्यले गरिएको यो कार्यक्रमले बिद्यार्थीहरूको मनोबल मात्र होइन, शैक्षिक लगाव र निरन्तरतामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आईतवार सम्पन्न कार्यक्रममा वडा नम्बर १३ अन्तर्गत रहेका जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुरा, जनमुखी आधारभूत विद्यालय डाँडाटोल, र सेम नेपाल नमुना आधारभूत विद्यालय खोरटोलका ५७ जना बिद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्री प्रदान गरिएको हो।
कार्यक्रमको विशेष आकर्षण भनेको उत्कृष्ट बिद्यार्थीलाई दिइएको साइकल पुरस्कार थियो। कक्षा ५ देखि ९ सम्मका तहमा प्रथम स्थान हासिल गर्ने ७ जना बिद्यार्थीलाई साइकल प्रदान गरिएको वडा अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए। कक्षा ५ मा प्रथम हुने सेम नेपाल र जनमुखी विद्यालयका एक–एक जना विद्यार्थी तथा जनता मा.वि. डाँडाटोलका कक्षा ५ देखि ९ सम्मका पाँच जना छात्रछात्राले यो सम्मान पाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले प्रारम्भिक तहको शिक्षालाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले भने, “जग बलियो भए मात्रै घर बलियो हुन्छ। त्यसैले बाल्यकालदेखिको गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक छ।”
उनले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजालाई सन्दर्भमा राख्दै बर्दिवास नगरपालिकाको प्रदर्शन सन्तोषजनक रहेको धारणा राखे। “जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएका हौं,” क्षेत्रीले भने, “तर केही विद्यालयको नतिजा भने सोचेजस्तो आएन। अब त्यसको समाधानका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति बीच गम्भीर छलफल आवश्यक छ।”
बर्दिवास नगरपालिका १३का वडा अध्यक्ष सिंहका अनुसार, “शिक्षामा लगानी भनेको भविष्य निर्माणमा लगानी हो। वडा कार्यालयको बजेटबाट विद्यार्थीलाई आवश्यक सामग्री र सुविधा जुटाइदिँदा उनीहरूको पढाइमा थप उर्जा र प्रेरणा मिल्छ भन्ने हाम्रो विश्वास छ।”
साना, टाढा बस्तीका विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालित वितरण कार्यक्रमले शिक्षामा समान पहुँच र अवसर सुनिश्चित गर्नेतर्फ स्थानीय सरकारको गम्भीरता देखाउँछ। यो अभियान सामाजिक न्याय, समावेशिता र शैक्षिक गुणस्तरमा लगानी गर्ने स्थानीय नेतृत्वको उदाहरण हो।
कार्यक्रमका सहभागी विद्यालयका शिक्षक,अभिभावक र सामाजिक अभियन्ताहरूले स्थानीय सरकारको प्रयासको प्रशंसा गर्दै भने, “विद्यार्थीहरूलाई प्रोहत्साहन ल्याउने यस्ता कार्यक्रमहरूले शिक्षा प्रति झनै आकर्षण बढाउँछ।”
कार्यक्रमको समापनमा बर्दिवास १३ का जनप्रतिनिधिहरू, विद्यालयका प्राचार्य तथा स्थानीय अगुवाहरूले यस्ता कार्यक्रम दीर्घकालीन रूपमा निरन्तर भइरहुन् भन्ने कामना व्यक्त गरे। साइकल पाएका विद्यार्थीहरूको अनुहारमा देखिएको आत्मविश्वास र खुशी नै कार्यक्रमको सफलता प्रमाणित गर्ने किसिमको अभिव्यक्ति दिइएको थियो।
विकासको मूल जग शिक्षामा हुन्छ भन्ने मान्यता अनुसार, बर्दिवास नगरपालिका वडा नं. १३ ले प्रारम्भिक तहका बालबालिकाको आधार बलियो बनाउन चालिएको यो कदम सिर्जनात्मक स्थानीय नेतृत्व र समुदाय–केन्द्रित शिक्षानीतिको उत्कृष्ट नमुना हो। शिक्षालाई सशक्त बनाउनका लागि आवश्यक सामाग्री र सुविधा प्रवाह गर्ने यस्तो पहलले नगरपालिकाको अन्य वडाहरूलाई पनि अनुकरणीय बाटो देखाउनेछ।
