बर्दिवास नगरपालिका पुनः ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ मा प्रतिबद्ध

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास,
महोत्तरी क्षेत्र नम्बर १ (क) की मधेश प्रदेशसभा सदस्य शारदादेवी थापाले विकासका योजनामा सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिएकी छन्। बर्दिवास नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न ‘नगरस्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह–२०८२’ मा बोल्दै उनले यो भनाइ राखेकी हुन्।

प्रदेश सांसद थापाले महिलाका प्रजनन स्वास्थ्य समस्यादेखी बाल मृत्युसम्मका जटिल विषयहरूमा महिलास्वयंसेविकाको अतुलनीय योगदान रहेको बताइन्। “पछिल्लो ३७ वर्षदेखि महिला स्वयंसेविकाहरूले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएका छन्,” उनले भनिन्, “उहाँहरू समाजका सम्माननीय व्यक्तित्व हुनुहुन्छ। स्वास्थ्य क्षेत्रको यो मेरुदण्डलाई अझ सम्मान र सहयोग गर्न जरुरी छ।”


उक्त समारोहमा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगर स्वास्थ्य क्षेत्रमा भएको सुधारको चर्चा गरे। “हामीले कुल बजेटमध्ये सबैभन्दा बढी स्वास्थ्यमा लगानी गरेका छौँ,” मेयर क्षेत्रीले भने, “त्यही लगानी, कर्मचारीको मेहनत र स्वयंसेविकाको सक्रियताका कारण बर्दिवास नगर अस्पताल आज मधेश प्रदेशकै पहिलो र देशभरकै दोस्रो उत्कृष्ट नगर अस्पताल बन्न सफल भएको छ।”

उनले स्वास्थ्यकर्मी र स्वयंसेविकालाई धन्यवाद दिँदै यो वर्ष पनि बर्दिवासलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपनको दर्जा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले पूर्ण खोप बालबालिकाको अधिकार भएको उल्लेख गर्दै खोपको पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मी र स्वयंसेविकाको भूमिकाको प्रशंसा गरे। “बालबालिकालाई पूर्ण खोप लगाउने काम सजिलो छैन, त्यसका लागि घरघरमै पुगेर सचेतना र सेवा दिनुपर्ने हुन्छ,” उनले भने, “स्वास्थ्यकर्मी र स्वयंसेविका नै नगरपालिकाको वास्तविक शक्ति हुन्।”

उनले खोपकार्ड अनुसार बालबालिकाले सबै खोप लगाए÷नलगाएको ट्र्याक गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

बर्दिवास नगरपालिका पहिलोपटक २०७५ सालमा पूर्ण खोप नगरपालिका घोषित भएको हो। त्यसयता बालबालिका जन्मिँदै जाने प्रक्रिया भएकाले खोप सुनिश्चितता कायम राख्न दिगोपन घोषणा कार्यक्रम हरेक वर्ष आयोजना हुँदै आएको छ।

स्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानका अनुसार हाल बर्दिवास नगरपालिकाभित्र एक वर्ष मुनिका १ हजार ३ सय १२ जना बालबालिका रहेका छन्। “उनीहरू सबैलाई आवश्यक खोप पु¥याउन स्वास्थ्यकर्मी र स्वयंसेविका अहोरात्र खटिरहेका छन्,” पासवानले भने।
समारोहमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बर्दिवास नगरपालिकाले स्थानीय स्रोत, स्वामित्व र समुदायको सहभागितालाई प्राथमिकता दिने बताएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...