आज्ञा खबर
पर्सा
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरु भएको दुई दिने कार्यक्रममार्फत पार्टीले मधेशका आठवटै जिल्लाबाट प्रशिक्षक उत्पादन गर्ने उद्देश्य लिएको छ।
कार्यक्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन जनाका दरले प्रतिनिधित्व गराइएको छ, जसमा अनिवार्यरूपमा एक महिला सहभागिता सुनिश्चित गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार, प्रशिक्षणमार्फत संगठनात्मक दक्षता, विचारधारात्मक स्पष्टता र नेतृत्व विकासमा जोड दिइएको छ।
विचार र कार्यदिशामा बहुआयामिक प्रशिक्षण
प्रशिक्षणको पहिलो चरणमा डा. कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको तहगत संरचना, सांगठनिक अवस्था र नेतृत्व विकास’ विषयमा प्रशिक्षण दिएका छन् भने डा. जगदिशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवादअन्तर्गत कांग्रेसको आर्थित नीति, उपलब्धि र भावी कार्यदिशा’ मा प्रशिक्षण दिएका छन्।
यस्तै, प्रशिक्षण विधि, सहजीकरण र प्रभावकारी प्रशिक्षकका सीपबारे बिजुला बर्मा राणाले अन्तरक्रिया तथा सहजीकरण सत्र संचालन गरेकी छन्। ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग’ भन्ने शीर्षकमा विश्वदीप लामिछानेले प्रयोगात्मक सत्रमार्फत सहभागीहरूलाई प्रशिक्षण दिएका छन्।
त्यसैगरी, ‘युवा, रोजगारी र उद्यमशीलता’ विषयमा डा. संजय महतो र ‘नेपाली कांग्रेसको आदर्श तथा नेपालको संविधान कार्यान्वयनमा पार्टीको भूमिका’ विषयमा डा. बुद्धिमान श्रेष्ठले प्रशिक्षण दिएका छन्।
बागमतीपछि मधेश, अब कर्णालीतर्फ
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रमुख नेतृत्वमा सञ्चालन हुँदै आएको प्रशिक्षण प्रतिष्ठानले यसअघि बागमती प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। प्रतिष्ठानले अब कर्णाली प्रदेशलाई अर्को गन्तव्यको रूपमा तय गरेको छ।
प्रदेशस्तरमै प्रशिक्षक उत्पादन गर्ने रणनीति अन्तर्गत पार्टीले मुलुकभर विचारधारात्मक रूपले सक्षम र संगठनात्मक रूपमा सबल प्रशिक्षकहरूको सञ्जाल निर्माण गर्ने प्रयास गरिरहेको छ। प्रशिक्षणमार्फत पार्टीभित्र नेतृत्व विकास, विचारधारा स्पष्टता र कार्यक्रम प्रभावकारिता वृद्धि हुने अपेक्षा गरिएको छ।





































