आज्ञा खबर
जनकपुरधाम
नेपाली कांग्रेस मधेस प्रदेशले अबदेखि प्रभावकारी प्रस्तुती दिने क्षमतावान र पार्टीप्रति प्रतिबद्ध व्यक्तिलाई मात्र प्रशिक्षकका रूपमा समावेश गर्ने निर्णय गरेको छ। जनकपुरधामस्थित प्रदेश कार्यालयमा सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएअनुसार, अब हुने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमहरूमा प्रशिक्षक छनोटका लागि विशेष मापदण्ड अपनाइनेछ। उनका अनुसार, प्रशिक्षकका रूपमा समय दिन सक्ने, प्रभावकारी रूपमा ज्ञान र विचार प्रवाह गर्न सक्ने, र संगठनप्रति समर्पित व्यक्तिलाई मात्र जिम्मेवारी दिइनेछ।
प्रदेश प्रशिक्षण विभागको प्रस्तावअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा ४ जना प्रशिक्षक चयन गरिनेछ, जसमा कम्तीमा १ जना महिला अनिवार्य हुनेछन्। यस्तै, प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट पनि कम्तीमा १÷१ जनाको सहभागिता सुनिश्चित गरिनेछ।
योजना अनुसार, प्रशिक्षण कार्यक्रममा १३० देखि १५० जनासम्म सहभागिता गराउने लक्ष्य लिइएको छ। त्यसका लागि कांग्रेसका भातृ संगठनहरूको प्रमुखको सहभागिता अनिवार्य गरिएको छ।
यही सन्दर्भमा, कांग्रेस केन्द्रीय कार्यालय अन्तर्गतको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आगामी असार १३ र १४ गते वीरगञ्जमा आयोजना गर्न लागिएको विशेष प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ।
कांग्रेस मधेस प्रदेशले लिएको यो निर्णयबाट संगठनलाई थप अनुशासित, प्रभावशाली र सांगठनिक रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ।
