आज्ञा खबर
बारा
लागुऔषध चरेससहित जीतपुर सिमरा उपमहानगरपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाल जीतपुर सिमरा–६ मा बसोबास गर्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन्। उनी वीरगन्ज महानगरपालिका–१६ का स्थायी बासिन्दा हुन्।
बुधबार साँझ पथलैयामा प्रहरी चौकीबाट खटिएको टोलीले नारायणघाटबाट काठमाडौं जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बुढाथोकीलाई पक्राउ गरेको हो। बसमा कालो झोला बोकेर बसेका बुढाथोकीको झोलाबाट प्रहरीले १ किलो ९३३ ग्राम चरेस बरामद गरेको हो।
बाराका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बुढाथोकीको साथबाट नेपाली ६० हजार ५ सय र भारतीय ३९ हजार २१७ रुपैयाँसहित कुल १ लाख २३ हजार २४७ रुपैयाँ नगद पनि बरामद गरिएको छ।
हाल उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको अभियोगमा हिरासतमा राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





































