आज्ञा खबर
सप्तरी
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीका तत्कालीन प्रमुखसहित तीनजनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कार्यालय प्रमुख रहेका वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, तत्कालीन सह–लेखापाल अनिल लिम्बू, मोदक एड्भर्टाइजिङ प्रालि र सोका प्रोपाइटर कौशलराज सिंहविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार बिना कुनै सार्वजनिक सूचना तथा प्रतिस्पर्धा, निर्माण कार्यको बोलपत्र आह्वान नगरी आपसी मिलेमतोमा भेटेनरी कार्यालयको भवन निर्माण गरिएको पाइएको छ।
आयोगको अनुसन्धानबाट झा, लिम्बू र सिंहको मिलेमतोमा झुटो बिल तयार पारिएको र त्यस आधारमा एक लाख २९ हजार ६६७ रुपैयाँ सरकारी कोषबाट भुक्तानी लिएको पुष्टि भएको छ।
सरकारी निकायमा सेवा प्रवाह र पारदर्शितामा चुनौती खडा गर्ने खालका यस्ता कार्यले स्थानीय तहमा भ्रष्टाचारमाथिको आशंका झनै बढाएको छ।
अख्तियारले मुद्दा दायर गर्दै सार्वजनिक पदमा रही व्यक्तिगत वा समूहगत लाभका लागि अधिकारको दुरुपयोग गरिएको, नियमानुसारको प्रक्रिया उल्लङ्घन गरी राज्यलाई आर्थिक क्षति पु¥याइएको दाबी गरेको छ।
