आज्ञा खबर
बर्दिवास
पहिला मलाई लाग्थ्यो, मेरो क्षमता घरभित्रै सीमित छ,“अब म आफूले तयार गरेको कपडाको व्यापार गर्न सक्छु भन्ने विश्वास मनभित्र पलाएको छ।“
यो भनाई बर्दिवास–३ की २७ वर्षीया रेखा ढुंगेलको हो,जसले ६० दिने निशुल्क सिलाई–कटाई तालिम सफलतापूर्वक सम्पन्न गरेकी छिन्।
नगरपालिका र निजी क्षेत्रको सहकार्यमा सञ्चालित यो तालिमले बर्दिवासका महिलामा आत्मनिर्भरता र व्यवसायिक सक्षमता निर्माण गर्ने उद्देश्य बोकेको थियो। तालिममा सहभागी २० जना महिलाले व्यावहारिक सीप मात्र सिकेनन्, भविष्यप्रति नयाँ दृष्टिकोणसमेत पाए।
बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा, समृद्धि कन्सलटेन्सी ट्रेनिङ्ग एन्ड मिडिया सेन्टर प्रा.लिको आयोजनामा संचालन गरिएको यो तालिम सिपमुखी तालिमको एउटा सफल उदाहरण हो।
तालिम बर्दिवास–३ मा सञ्चालन भएको थियो, जहाँ सहभागी महिलाले कपडा काट्ने, सिलाउने, डिजाइन गर्ने, मापन लिने जस्ता व्यवहारिक सीप सिके।
तालिम समापन समारोहमा प्रमुख अतिथि रहेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले भने,
“सिप बिना आत्मनिर्भर समाजको कल्पना गर्न सकिन्न। यस्तो तालिमले महिलालाई आत्मनिर्भर बनाउने मात्र होइन, नगरकै आर्थिक प्रणालीमा योगदान दिने माध्यम पनि बन्न सक्छ।“
उनले अगाडि थपे, “आजको दिन साक्षी छ, अब हाम्रो नगरका महिलाहरूले सीपलाई व्यवसायमा बदल्ने सम्भावनाको ढोका खोलेका छन्।” क्षेत्रीले पुनह भने “हामीलाई अनुदान दिनेभन्दा रोजगारी दिने सरकार बन्न मन छ।”

समापन कार्यक्रममा मन्तव्य राख्दै बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले तालिमको मूल मर्म प्रस्तुत गरे।
“सिपविना महिलालाई आर्थिक रुपमा सक्षम बनाउनु सम्भव छैन,” उनले भने, “महिलाहरू सक्षम भए भने घरपरिवारलाई आर्थिक बोझ बन्नु पर्दैन। त्यो भन्दा ठूलो योगदान के हुन सक्छ र?”
उनले समूहगत रुपमा महिलाहरू अघि आए व्यवसायको लागि नगरपालिकाले सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरे।
तालिममा सहभागी अधिकांश महिला गृहिणी तथा बेरोजगार युवतीहरू थिए। तालिमले उनीहरूलाई आत्मविश्वास मात्रै बढाएको छैन, भविष्यप्रति आशावादी बनाएको छ।
त्यस्तै अर्की सहभागी बिनिता मैनाली भन्छिन्,“यस तालिमले मेरो सोचाइ बदलिदियो। अब म आफ्नै सिलाइ पसल खोल्ने सोचमा छु।”
यो तलिम सहभागीहरूकालागी उत्साह थप्ने किसिमको थियो। समापन कार्यक्रममै केही महिलाहरूले समूह गठन गरी नयाँ मोडेलमा व्यवसाय अघि बढाउने सोच समेत बनाई राखेका थिए।
६० दिनसम्म चलेको तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई समान महत्व दिइएको आयोजक संस्था समृद्धि कन्सलटेन्सी ट्रेनिङ्ग एन्ड मिडिया सेन्टरकी श्रोत ब्यक्ती आरती बुढाथोकी भन्छिन “हामीले तालिमलाई व्यवहारमा आधारित बनायौं। महिलाहरू आफैं डिजाइन बनाउन, कपडा काट्न,सक्ने अवस्थामा छन्।“
उनी भन्छन्“तालिम लिएका सबै महिलाहरूले आफैले सिलाएको पोशाक लगाएर समापनमा आएका छन्। यति क्षमता देखेर तालिम सफल भयो भन्ने ठान्न सकिन्छ।”
नगरप्रमुख क्षेत्रीको कार्यकालमा सिपमुलक तालिम प्राथमिकतामा परेको देखिन्छ। हालै मात्र बर्दिवास नगरपालिकाले ब्यूटीपार्लर,क्रिस्टल कम्प्युटर, लोकसेवा तयारी कक्षा लगायतका बिभिन्न विषयमा समेत निःशुल्क तालिम सञ्चालन गरिसकेको छ।
यो तालिमले महिलाहरूको सामाजिक रूपमा सशक्तिकरण मात्रै होइन, आर्थिक दृष्टिले पनिे उल्लेखनीय प्रभावपर्ने अपेक्षा गरिएको छ। तालिमपछि धेरै महिलाहरू आफ्नो परिवारको आम्दानीमा योगदान गर्न सक्नेछन्।
यद्यपि तालिमको प्रभावशाली शुरुआत भए पनि दीर्घकालीन सफलताका लागि केही चुनौतीहरू विद्यमान छन्। जस्तै—तालिमपछिको निरन्तर अभ्यास, बजार पहुँच, लगानी स्रोत, तालिमअनुसारको ग्राहक खोजी आदि।
तर यी चुनौतीहरू समाधान गर्न सकेमा बर्दिवास महिला स्वरोजगारको नमूना क्षेत्र बन्न सक्छ।
तालिम सानो देखिए पनि यसको प्रभाव गहिरो छ। बर्दिवास नगरपालिकाले साँचो अर्थमा सिपको मूल्य बुझेर महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।
यस खालका तालिमले नारी सशक्तिकरणको मूल मर्मलाई आत्मसात गर्दै भविष्यको स्वरोजगार र उद्यमशीलता निर्माणमा सशक्त भूमिका खेल्न सक्छ।
