आज्ञा खबर
सिराहा
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा सोमवार बिहान सिँचाइका लागि प्रयोग गरिएको मोटरमा करेन्ट लाग्दा एक वृद्धको ज्यान गएको छ।
स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा नम्बर १३ का वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए।
उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डितले सिँचाइ सुरु गर्ने क्रममा विद्युत् जडानमा त्रुटि हुँदा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर कानूनी प्रक्रिया अनुरूप मुचुल्का तयार पारेर शव उठाउने कार्य भइरहेको छ।
वडाध्यक्ष महतोले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे आवश्यक चेतना नहुनु दुःखद पक्ष रहेको भन्दै, “गत वर्ष पनि सोही गाउँमा सिँचाइका क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको थियो। उनका अनुसार नाङ्गो तारलाई छोप्ने, प्लग जमिनमै राख्ने, पम्पको मर्मत गर्दा सावधानी नअपनाउनेजस्ता कारणले वर्षायाममा करेन्ट लागेर अकाल मृत्यु हुने घटनाहरू बढिरहेका छन्।
घटनापछि स्थानीयवासीले विद्युत् सुरक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको भनाइमा गाउँघरमा सिँचाइका लागि प्रयोग गरिने विद्युतीय सामग्रीको सुरक्षित प्रयोग सुनिश्चित गर्न निति तथा व्यवहार दुबै तहमा चाँडो हस्तक्षेप आवश्यक छ।





































