आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा फर्सीको मुन्टा टिप्न गएकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। आइतबार बिहान करेसाबारीमा काम गरिरहेकी ३६ वर्षीया मुना राईलाई गोमन जातको विषालु सर्पले डसेको थियो। समयमै प्रभावकारी उपचार नपाउँदा उनको ज्यान गएको हो।
घटनापछि परिवारले मुना राईलाई स्थानीय सर्पदंश उपचार केन्द्र, नवलपुर पु¥याए। तर केन्द्रमा पु¥याउँदासम्म उनको अवस्था गम्भीर भइसकेको थियो। केन्द्रका इञ्चार्ज जगर्नाथ यादवका अनुसार, बिहान ६ बजे सर्पले डसेकी महिलालाई ७ बजेतिर मात्र केन्द्रमा ल्याइएको थियो। तत्काल १० भाइल एन्टीस्नेक भेनम दिएर जनकपुरतर्फ रेफर गरिए पनि त्यहाँका चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
यादवका अनुसार बिरामी गम्भीर अवस्थामा ल्याइएकोले केन्द्रमा उपचार सम्भव भएन। “समयमै ल्याइएकी भए उनी बच्न सक्थिन्,” उनले भने। परिवारका सदस्यहरूले भने सवारी साधन नपाउँदा समय खेर गएको गुनासो गरेका छन्। “पहिले अटो खोज्यौँ, पाइएन। अन्ततः मोटरसाइकलमा ल्यायौं,” मुनाका एक आफन्तले भने।
नवलपुर सर्पदंश उपचार केन्द्रमा विषालु सर्पको टोकाइबाट पीडित बिरामीहरूलाई प्राथमिक उपचार दिइने भए पनि आईसीयू र भेन्टिलेटर जस्ता अत्यावश्यक सेवा नहुँदा गम्भीर अवस्थाका बिरामीहरूलाई जनकपुर, वीरगन्ज वा भारततर्फ रेफर गर्नुपर्छ। तर, रेफर गर्दा हुने ढिलाइ र बीचको यात्रा नै धेरैका लागि प्राणघातक हुने गरेको छ।
स्थानीय स्वास्थ्य व्यवस्थाको यस्तो जटिल अवस्थाले पुनः एक पटक देखाएको छ—गाउँघरमा विषालु सर्पदंश जस्तो आपतमा समयमै उपचारको अभावले कसरी मानवीय क्षति निम्त्याउँछ। दक्ष जनशक्ति, प्रभावकारी स्वास्थ्य पूर्वाधार, आकस्मिक यातायात व्यवस्था र सर्पदंशबारे जनचेतनाको गम्भीर अभावले ग्रामीण जीवन अझै असुरक्षित छ।





































