आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. १, २, ३ र १४ मा खानेपानी सेवा दिइरहेको बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरूलाई कडा चेतावनी दिँदै तोकिएको म्यादभित्र बक्यौता महसुल चुक्ता गर्न आग्रह गरेको छ।
संस्थाले २०८२ साल जेष्ठ २० गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै असार १५ गतेभित्र रु १५ हजार भन्दा माथिको बक्यौता तिर्न अनुरोध गरेको हो।
संस्थाका अनुसार तोकिएको समयसीमा पार गरेमा खानेपानीको धारा जुनसुकै बेला काटिने छ। साथै, बक्यौता तिर्न बाँकी उपभोक्ताहरूको नाम र रकम समेत सार्वजनिक गरिनेछ।
संस्थाले भनेको छ, “समयमै महसुल नतिर्दा सेवा प्रवाहमा बाधा पुग्ने भएकाले उपभोक्ताहरूको सहकार्य अत्यावश्यक छ।”
धेरैजसो उपभोक्ताहरूले महसुल नियमित रुपमा बुझाउने गरे पनि, केही व्यक्तिले वर्षौँदेखि रकम नतिरेको गुनासो संस्थाले गर्दै आएको छ। यस्ता उपभोक्तालाई ध्यानमा राख्दै संस्थाले अब कानुनी प्रक्रिया र सेवा स्थगन जस्ता कडा कदम चाल्न सक्ने संकेत दिएको छ।

बर्दिवासको खानेपानी तथा सरसफाई सेवा अझ प्रभावकारी बनाउन संस्थाले आर्थिक अनुशासन कडाई गर्न खोजेको जनाएको छ। खानेपानी जस्तो संवेदनशील सेवाको दीर्घकालीन दिगोपनाका लागि सबैको सहभागिता जरुरी हुने संस्थाको भनाइ छ।
संस्थाले स्थानीय उपभोक्तालाई सेवा निरन्तरताका लागि तोकिएको समयभित्र महसुल तिर्न पुनः अपिल गरेको छ।
बक्यौता रकम तिर्नुपर्ने विवरण र थप जानकारीका लागि उपभोक्ताहरूले संस्थाको कार्यालयमा सिधा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।





































