आज्ञा खबर,
बर्दिवास: नेपाल तरुणदल बर्दिवासले संगठन विस्तारको अभियानलाई तीव्रता दिँदै बर्दिवास नगरपालिका–३ मा समेत नयाँ कार्यसमिति गठन गरी आफ्नो सांगठनिक पकडलाई बलियो बनाएको छ।
बिहीवार आयोजित भेलामार्फत नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदलले ११ सदस्यीय नयाँ वडा समिति चयन गर्दै वडा नं. ३ मा औपचारिक संगठन विस्तार गरेको हो।
भेलाबाट दिपक कार्की अध्यक्ष निर्वाचित भए भने सुरेश पौडेल उपाध्यक्ष, भरत कुँवर सचिव, दिल बहादुर सार्की सह–सचिव र कल्याणी खड्का कोषाध्यक्षमा चयन भए। त्यसैगरी, माधव घिमिरे, दिपक बुढाथोकी, रमेश माझी, विनोद बराल लगायत अन्य सदस्यमा चयन भएका छन्।
यसै भेलाबाट ८ जना नगर अधिवेशन प्रतिनिधि र ३ जना जिल्ला अधिवेशन प्रतिनिधिहरू समेत चयन गरिएको नेपाल तरुणदल बर्दिवासका अध्यक्ष विनोद ढुंगेलले जानकारी दिए।
नगर अधिवेशन प्रतिनिधिमा माधव घिमिरे, रमेश माझी, दिल बहादुर सार्की, सुरेश पौडेललगायतका युवा नेताहरू छन्। त्यस्तै, जिल्ला अधिवेशन प्रतिनिधिमा माधव ढुंगेल, कल्याणी खड्का र भरत कुँवर चयन भए।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बर्दिवासका नगरसभापति युबराज पोखरेलले युवाहरूसँग पार्टीको भविष्य सुरक्षित रहेको भन्दै तरुणदलको निरन्तर बिस्तार र सक्रियतालाई प्रशंसायोग्य बताए।
त्यस्तै, नेपाल तरुणदल महोत्तरीका अध्यक्ष तथा केन्द्रीय सदस्य विनय कुमार यादवले संगठन सशक्त बनाउन प्रत्येक वडामा संरचना निर्माण गर्ने आफ्नो योजनालाई पुनः पुष्टि गरे।
भेलामा नेपाली कांग्रेसका महासमिति सदस्य एवं बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, कांग्रेस नेता पोषण थापा, महिला नेतृ नविना पाण्डे, वडा नं. ३ का कांग्रेस सभापति पशुराम रायमाझीलगायतको उपस्थिति उल्लेखनीय रह्यो।
नेपाल तरुणदल बर्दिवासले यसअघि वडा नं. २ र वडा नं. ४ मा समेत सफलतापूर्वक संगठन विस्तार गरिसकेको छ। अब वडानम्बर ३ मा पनि सक्रिय कार्यसमिति गठन गरेसँगै, बाँकी वडाहरूमा पनि विस्तारको तयारीमा रहेको तरुणदलका पदाधिकारीहरू बताउँछन्।
संगठनात्मक मजबूतीमार्फत आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा नेपाली कांग्रेसलाई सफल बनाउने लक्ष्यसहित नेपाल तरुणदल बर्दिवासले रणनीतिक गति लिएको छ।
तरुणहरूको जोश, नेताहरूको मार्गदर्शन र निरन्तर संगठन विस्तारको यो क्रमले बर्दिवासमा कांग्रेसभित्रको युवा शक्ति पुनः जागृत हुँदै गएको छ।