मटिहानी नगरपालिकाले सार्वजनिक गर्‍यो ४४ करोड ५० लाखको बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास

मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले आर्थिक वर्ष २०८२/८३ का लागि ४४ करोड ५० लाख रुपैयाँको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुधवार मटिहानी नगरपालिकाको १५ औं नगरसभाको खुला सत्रमा उनले आर्थिक योजना प्रस्तुत गरेका हुन्।

नगर प्रमुख मण्डलले सार्वजनिक गरेको बजेटमा संघीय सरकारबाट २८ करोड १० लाख, राजस्व बाँडफाँडबाट १० करोड ५ लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख तथा आन्तरिक स्रोतबाट ५ करोड ९० लाख रुपैयाँ रहनेछ।

सभामा नीति तथा कार्यक्रममाथि छलफलपश्चात सर्वसम्मत रूपमा पारित गरिएको बजेटमा नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए। साथै, धार्मिक, ऐतिहासिक र पर्यटकीय पहिचानलाई मटिहानीको विकासको मुख्य आधार बनाउँदै थप योजना अघि बढाइने स्पष्ट पारे।

धार्मिक–पर्यटकीय विकासमा जोड

नगर प्रमुख मण्डलले मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन केन्द्र सरकारसँग पहल गरिने बताएका छन्। साथै, जलसागर, गोसाइँकुण्डलगायतका धार्मिकस्थलहरूको सौन्दर्यीकरण र संरक्षणमा पनि नगरले विशेष योजना ल्याउने घोषणा गरे।

नगरभित्रका मठ, मन्दिर र मस्जिदहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माण तथा सांस्कृतिक पूर्वाधार विस्तारमा लगानी गरिनेछ। आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कर्मचारीलाई आर्थिक सुविधा सहित १० दिनको पर्यटन काज दिने व्यवस्था मिलाइने बताइएको छ।

शिक्षामा मैथिली पाठ्यक्रम र डिजिटल पहुँच

शैक्षिक क्षेत्रको सुदृढीकरणका लागि नगरपालिकाले मैथिली भाषा संरक्षणलाई प्राथमिकता दिने घोषणा गरेको छ। नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा १०० अंकको मैथिली भाषा विषय समावेश गरिनेछ।

विद्यार्थीको सूचना प्रविधिमा पहुँच विस्तार गर्न जोडकोषमा आधारित ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्राहरूलाई निःशुल्क साइकल वितरण तथा विपन्न, दलित, अपांग, सहिद परिवारका मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख मण्डलले जनाए।

साथै, नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा ‘फ्री बुक एन्ड ब्याग डे’ कार्यक्रम सञ्चालन गरी विद्यार्थीको मनोबल वृद्धि र सीप विकासमा योगदान पुर्‍याइनेछ।

स्वास्थ्य सेवामा सुविधा विस्तार

स्वास्थ्यतर्फ मटिहानी नगरपालिकाले गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउन्ड सेवा, बर्थिङ सेन्टरबाट जनकपुर रेफर गरिने अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा, र आयुर्वेद तथा पारम्परिक चिकित्सा प्रणालीको प्रवर्द्धनमा प्राथमिकता दिइने उल्लेख गरिएको छ।

समावेशीकरणदेखि सुशासनसम्म

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समावेशीकरण, गरिबी निवारण, कला–संस्कृति प्रवर्द्धन, खेलकुद विकास, पूर्वाधार विस्तार, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र सुशासनका लागि छुट्टै योजनासहित बजेट विनियोजन गरिएको छ।

नगरसभाको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथि रहेका थिए। प्रमुख मण्डलले कार्यक्रमको उद्घाटन गर्दै मटिहानीको दीर्घकालीन र समावेशी विकासका लागि बजेटमा समावेश कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन सबै पक्षसँग सहकार्यको आग्रह समेत गरेका थिए।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...