- आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलमा वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दुई जना भारतीय नागरिक रहेका छन्।
सोमबार बिहान इलाका प्रहरी कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजेश बर्तौलाको नेतृत्वमा खटिएको टोलीले गुप्त सूचनाका आधारमा होटलमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबाट भारत बिहार राज्यको सीतामढी जिल्लाका मजफ्फरपुर–१० का २५ वर्षीय पुरुष मजफ्फरपुर–४ का ३६ वर्षीय , पुरुष ,महोत्तरी रामगोपालपुर नगरपालिका–८ की ३० वर्षीया महिला सिरहा लहानकी ३० वर्षीया महिला तथा होटल सञ्चालक पुरुषलाई नियन्त्रणमा लिएको हो।
होटल सञ्चालक जो बर्दिवास नगरपालिका–३ कै स्थायी बासिन्दा हुन्, उनीमाथि होटलमार्फत अवैध क्रियाकलाप सञ्चालन गरिरहेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार बर्दिवासका केही होटलहरूमा लागुऔषध कारोबार, चोरी तथा विभिन्न आपराधिक योजनाहरू बनाउने गतिविधिहरू भइरहेका सूचनाका आधारमा निगरानी कडा पारिएको थियो। “होटलहरूमा यस्ता अवाञ्छित गतिविधि बढ्दै गएको सन्दर्भमा हामीले निगरानी तीव्र गरेका थियौं,” डीएसपी बमले बताए, “यसै क्रममा स्नेहा होटलमा वेश्यावृत्तिमा संलग्नलाई नियन्त्रणमा लिएको हो।”
उनले थपे, “केही होटलमा महिलाहरूलाई अपराधी घटनामा प्रयोग गरिएको आशंका पनि छ। यसबारे थप अनुसन्धान भइरहेको छ।”
पक्राउ परेका पाँचैजनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यो घटनाले बर्दिवास क्षेत्रमा बढ्दै गएको संगठित आपराधिक गतिविधिप्रति सुरक्षासंस्थाको ध्यान केन्द्रित गराएको छ।





































