बर्दिबासबाट चोरी भएका मोटरसाइकलसहित चार जना पक्राउ, योजनाकार मकवानपुरका पासाङ तितुङ

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास
पछिल्लो समय लगातार मोटरसाइकल चोरीका घटनाले सताएको बर्दिबासमा प्रहरीले महत्वपूर्ण सफलता हात पारेको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार चोरीमा संलग्न चार जना युवाहरूलाई शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा सर्लाहीको हरिवन–१० का ३२ वर्षीय दिलबहादुर सिङदोङ, वाग्मती नगरपालिका–४ का २१ वर्षीय पदम थिङ, मकवानपुर बाग्मती गाउँपालिका–७ का २६ वर्षीय पासाङ तितुङ र सर्लाही वाग्मती नगरपालिका–४ का २२ वर्षीय सुरेश घिसिङ रहेका छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास बमका अनुसार नियन्त्रणमा लिइएका चोरहरूबाट चोरी भएका विभिन्न पल्सर मोटरसाइकलहरू बरामद गरिएको छ। तीमध्ये २२० सीसीका दुईवटा कालो–रातो रङका पल्सर मोटरसाइकल, एक २२० सीसी अनटेस्ट पल्सर र एक १५० सीसीको अनटेस्ट पल्सर समावेश छन्।

चोरीका यी मोटरसाइकलहरू जेठ ११, १९ र २४ गते बर्दिबासका विभिन्न स्थान—सिटी केयर अस्पताल अगाडि, हमाल टोल, पर्शुराम महतोको घरअगाडि र रिसोना होटलको गल्लीबाट चोरी भएका थिए।

डीएसपी बमका अनुसार अनुसन्धानमा खुल्न आएको गिरोहको योजनाकार पासाङ तितुङ हुन्, जो हाल रौतहटको चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका थिए। तितुङले बर्दिबास क्षेत्रमा चोरीको योजना बनाउने र अन्यलाई परिचालन गर्ने गरेका थिए। प्रहरीले उनीहरूबाट मोटरसाइकलको लक तोड्ने विशेष साँचो समेत बरामद गरेको छ।

चोरीको बढ्दो घटनालाई मध्यनजर गर्दै प्रहरीले बर्दिबासमा विशेष निगरानी र अनुगमन थालिएको थियो। नियमित गस्ती, सादा पोशाकमा प्रहरी परिचालन, सीसीटीभी क्यामराको विश्लेषण र मोटरसाइकल मर्मत ग्यारेज तथा स्पेयर पाट्र्स व्यवसायीसँग समन्वयपछि प्रहरी सफल भएको हो।

डीएसपी बमले भने, “चोरीमा संलग्न समूहलाई समात्नका लागि संयोजनात्मक प्रयास गरिएको थियो। स्थानीय व्यवसायीसँगको सहकार्य र प्रविधिको प्रयोगले मोटरसाइकल फेला पार्न सहयोग पुग्यो।”

पक्राउ परेका चोरहरूविरुद्ध आवश्यक अनुसन्धानपछि म्याद थपकालागी जिल्ला अदालत महोत्तरी पठाईएको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...