महोत्तरीमा ट्राफिक जनचेतना सप्ताह सम्पन्न, बसपार्क निर्माण र सवारी व्यवस्थापनमा छलफल

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको आयोजनामा एक साता लामो ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२’ विभिन्न गतिविधिसहित महोत्तरीमा सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम दिन आज साँझ बर्दिवासस्थित मुख्य चोकमा दीप प्रज्वलन गरिनुका साथै आज दिउँसो स्थानीय पत्रकार, यातायात व्यवसायी तथा चालकहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले ट्राफिक व्यवस्थापन, सडक विस्तार, र दुर्घटना न्यूनीकरणका विषयमा आफ्ना धारणा व्यक्त गरे। उनले आफ्नो कार्यकालको प्रारम्भमा बर्दिवास नगरक्षेत्रभित्र जम्मा ०.९ किलोमिटर मात्र कालोपत्रे सडक निर्माण भएको अवस्थामा अहिले ३० किलोमिटरभन्दा बढी कालोपत्रे सडक विस्तार भइसकेको बताए। यससँगै सवारीसाधनको चाप वृद्धि हुनु स्वाभाविक भएको उनको भनाइ थियो।

नगरप्रमुख क्षेत्रीले सवारी व्यवस्थापनमा आएको चुनौतीलाई सम्बोधन गर्न बर्दिवास–१४ स्थित भब्सी खोलामा नयाँ बसपार्क निर्माण कार्य प्रारम्भ भइसकेको जानकारी दिए। निर्माण सम्पन्न नभएसम्म वैकल्पिक रुपमा गौतम होटल अगाडिको खाली जमिन प्रयोग गरिने उनले जनाए।

“बर्दिवासको सीमित स्रोत साधनबाट एकै पटक सम्पूर्ण आवश्यकताको पूर्ति सम्भव छैन,” क्षेत्रीले भने, “तर नगरपालिकाले सवारी पार्किङ लगायतका समस्यामा चरणबद्ध रूपमा पहल गरिरहेको छ।” उनले यातायात व्यवसायीसँगको पूर्व सहमति अनुसार सवारी व्यवस्थापनलाई पुनः सुदृढ र प्रभावकारी बनाउने योजना रहेको बताए।

नगरप्रमुख क्षेत्रीले दुर्घटनाको न्यूनिकरणका लागि कारबाही मात्र पर्याप्त नहुने धारणा राख्दै चालक, यात्रु र सडक प्रयोगकर्ताले ट्राफिक नियम मनन गरी पालना गरे मात्र दुर्घटनामा कमी आउने बताए। उनले साना सवारीसाधनलाई ‘आलापाले’ प्रणालीमा सञ्चालन गर्नुपर्ने आवश्यकताको पनि औँल्याए।

कार्यक्रममा उनले नगरपालिकाको प्राथमिकता शिक्षा, स्वास्थ्य, र पूर्वाधार विकासमा रहेको उल्लेख गरे। साथै, राजमार्ग दायाँबायाँ ८२ फिटको सीमा भित्र अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाईसकेको जानकारी दिँदै मुख्य राजमार्ग क्षेत्र खाली पारिएको बताए।

नगरप्रमुख क्षेत्रीले नगरको विकास र व्यवस्थापनका लागि सबै संघसंस्थाबीच सहकार्य र साझा उत्तरदायित्वको भावना आवश्यक रहेकोमा जोड दिए। “आफ्नो जिम्मेवारीप्रति सचेत नभइकन अरूको आलोचना गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ, जुन नगर विकासका लागि सकारात्मक संकेत होइन,“ भन्दै उनले चिन्ता व्यक्त गरे।

बर्दिवासमा ट्राफिक जनचेतना सप्ताहको समापनसँगै अब आगामी दिनमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाका विषयमा थप योजना कार्यान्वयन गरिने अपेक्षा गरिएको छ। अन्तरक्रिया कार्यक्रममा ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिवास, यातायात व्यवसायी संघ, बजार व्यवस्थापन समिति लगायत सरोकारवालाबीच ट्राफिक नियम पालन, बसपार्क समस्या, र समग्र सवारी व्यवस्थापनबारे गहन छलफल भएको हो।
कार्यक्रममा ट्राफिक ब्यवस्थापनमा सहयोगगर्ने बिभिन्न संघसंस्थाका प्रतिनिधि पत्रकार यातयात बयवसायीलागायतलाई सम्मान गरीएको थियो

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...