एभरेष्ट डेरीको सामाजिक अभियानः सय रुपैयाँमै सेवा र संवेदनाको स्वाद

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महँगीले आकाश छोइरहेको आजको समयमा एकजनाले खाने खानाको मूल्यमा समेत दिनप्रतिदिन उकालो लागिरहेको छ, तर महोत्तरीको बर्दिवास–१ स्थित एभरेष्ट डेरी एण्ड स्वीट हाउसले केही पृथक र प्रेरणादायी सेवाको सुरुवात गरेको छ। यही जेष्ठ १० गतेदेखि यहाँ एक सय रुपैयाँमै शुद्ध शाकाहारी खाना खुवाउने सेवाको थालनी गरिएको हो। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिसँगै सस्तो, गुणस्तरीय र पौष्टिक खाना पाउनु सामान्य उपभोक्ताका लागि चुनौती बन्दै गएको बेला यस्तो सेवा समाजका निम्न तथा मध्यम वर्गीय नागरिकका लागि वरदान सावित हुन थालेको छ।

एभरेष्ट डेरी एण्ड स्वीट हाउसका सञ्चालक सुरेन्द्र लामाका अनुसार यो अभियान कुनै आर्थिक लाभको लागि होइन, सेवा भावका साथ थालिएको हो। “हामीले यो काम व्यापारिक सोचभन्दा फरक ढंगले सुरू गरेका हौं,“ उनी भन्छन्, “दैनिक सस्तो मूल्यमा गुणस्तरीय खाना नपाएर धेरैजसो विद्यार्थी, मजदुर, वृद्धवृद्धा, असहायहरू समस्यामा छन् भन्ने बुझेरै हामीले यस्तो योजना ल्याएका हौं।“

एभरेष्ट डेरी एण्ड स्वीट हाउसले दिने थालीमा भात, दाल, तरकारी, आलुको भुजिया, सलाद, अचार र अन्त्यमा एक चम्चा घिउसमेत समावेश गरिएको छ। खाना पूरै शाकाहारी हुन्छ र ताजा पकाइन्छ। खाना पकाउने किचन स्वच्छ छ, मास्क, टोपी र पञ्जा प्रयोग गर्ने श्रमिकहरू छन्। जसले ग्राहकमा विश्वास बढाएको छ।

“स्वच्छता र स्वाद दुबैमा हामी सम्झौता गर्दैनौं,“सुरेन्द्र लामाको भनाइ छ, “एक सय रुपैयाँमै ग्राहक सन्तुष्ट भएर फर्किए भने त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।“

सञ्चालनको सुरूवाती केही दिनमा प्रचारप्रसारको अभावका कारण सेवामा धेरै ग्राहकको आगमन थिएन। दैनिक १०–२० जनासम्म मात्र खाना खान आउने गरेका थिए। तर विस्तारै एक ग्राहकबाट अर्को ग्राहकसम्म सन्देश फैलिदै जाँदा अहिले दैनिक ५० देखि ८० जनासम्म खाना खान आउने गरेका छन्।

“सुरुवातमा हामीलाई केही डर थियो,“सुरेन्द्र लामाले सुनाए, “मान्छेहरू आउँदैनन् कि भन्ने थियो, तर अब त खाना सकिएपछि आउँदा खाना नपाएर फर्किने ग्राहकसमेत छन्।“

यस सेवाबाट विशेषगरी चालक, मजदुर, वृद्धवृद्धा तथा बर्दिवासका केही सरकारी कार्यालयका कर्मचारीहरू लाभान्वित हुँदै आएका छन्। बर्दिवास अध्यापन गराउदै आएका केही बोर्डिङ स्कुलका शिषक शिक्षिका समेत खाना खान पुग्ने गरेका छन्। स्थानीय बासिन्दा मात्रै होइन, बस स्ट्यान्ड नजिकै भएकाले यात्रामा रहेका सर्वसाधारण पनि खाना खाएर यात्रामा अगाडि बढ्ने गरेका छन्।

स्थानीय बासिन्दा ७० वर्षीय चलितर महतो भन्छन्,“काठमांडाँै हिनेको आज घरमा खाना पाक्न ढिलो भयो यहाँ एक सयमै राम्रो खाना पाइन्छ, हामीजस्ता वृद्धका लागि धेरै सजिलो भएको छ।“

सस्तो मूल्यमा गुणस्तरीय खाना दिनु मात्रै यो योजनाको उद्देश्य होइन। सञ्चालक सुरेन्द्र लामाको भनाइमा, यो एक सामाजिक सन्देश पनि हो। “यो देशमा सबैथोक महँगो हुँदै जाँदा व्यापार मात्रै नहोस् भन्ने हाम्रो सोच हो। हामी व्यापारमा नाफा मात्रै होइन, सेवाभाव पनि हुनुपर्छ भन्ने उदाहरण दिन चाहन्छौं,“ उनी भन्छन्।

उनका अनुसार यदि अन्य होटल–रेस्टुरेन्टले पनि यस्तो पहल गर्न सके भने खाद्य असुरक्षा तथा उपभोक्ता शोषणको समस्यामा केही हदसम्म कमी ल्याउन सकिन्छ।

एभरेष्ट डेरी एण्ड स्वीट हाउसले दिएको सेवा केवल सस्तो खाना मात्रै होइन, यो एक परिकल्पना हो—“कम मूल्यमा पनि राम्रो सेवा दिन सकिन्छ“ भन्ने। यो अवधारणा नेपालका धेरैजसो स्थानमा देखिँदैन, जहाँ सस्तो भनेको सामान्यतया घटिया भन्ने बुझिन्छ। तर यहाँ ग्राहकहरूले खाना खाएर फर्किँदा त्यस्तो सोच परिवर्तन हुन थालेको छ।

बर्दिवासमा डेरा गरी बस्ने संस्थागत बिद्यालयकी शिक्षिका रविना चौधरी भन्छिन्, “घरमै पाकाएर खाना खाने समय न भएको दिन यतै खान आउँछु। सफा पनि छ, स्वादिलो पनि।“

स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न पेशामा आवद्ध व्यक्तिहरूले समेत एभरेष्ट डेरी एण्ड स्वीट हाउसको उक्त पहललाई उदाहरणीय बताउँदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको टिप्पणी गरेका छन्। उपभोक्ताहरूको सन्तुष्टि, नियमित उपस्थिती र सकारात्मक प्रतिक्रिया यस सेवाको दीगो सफलता र समाजमा प्रभावकारी योगदानको प्रमाण बन्न थालेको छ।

यसैगरी बर्दिवास नगरपालिका–१४ का वडाध्यक्ष बिजय कुमार महतो भन्छन्, “सस्तो मूल्यमा गुणस्तरीय खाना उपलब्ध गराउनु प्रशंसनीय कार्य हो। यसले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वबोध झल्काउँछ।
पछिल्लो समय खानाको मूल्य अस्वाभाविक रूपमा बढ्दा अल्पआय भएका नागरिकहरू पौष्टिक खाना खाने सम्भावनाबाट बञ्चित भइरहेका छन्। सस्तो मूल्यमा गुणस्तरीय खाना उपलब्ध गराउनु खाद्य न्यायको अभ्यासजस्तै हो। खाद्य अधिकार संविधानमा सुनिश्चित गरिएको भए पनि व्यवहारमा त्यो अझै अपुरो छ। यस्तो अवस्थामा एभरेष्ट डेरी एण्ड स्वीट हाउसको अभियान एक नमुना बनिरहेको छ।

१सय रुपैयाँमा पनि गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने दृष्टान्तको रूपमा एभरेष्ट डेरी एण्ड स्वीट हाउस आजको दिनमा स्थापित हुँदैछ। यो एक व्यापारिक मोडेल मात्रै होइन, सामाजिक दायित्वको प्रतिबिम्ब हो, जहाँ मानवताको मूल्य व्यवसायभन्दा माथि राखिएको छ।

यदि साँचो अर्थमा ’समृद्ध समाज’ बनाउने हो भने, यस्तै सोच, यस्तै व्यवहार र यस्तै सेवा आवश्यक छ—जहाँ नाफाभन्दा सेवा, बजारभन्दा मानवता र व्यवसायभन्दा सहकार्यको मूल्य होस्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...