रौतहटमा यात्रुबाहक हायस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको यात्रुबाहक हायस (बा.प्र.०३–००१ ज.०४५२) र विपरीत दिशाबाट आउँदै गरेको ट्रक (म.प्र.०३–००१ ख.८६००) एकआपसमा ठोक्किँदा रामनगर गाउँपालिका–१, खैरवा बस्ने ३६ वर्षीया भगियादेवी यादव र ३० वर्षीय धिरेन्द्र ठाकुरको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारका क्रममा निधन भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृतक भगियादेवीकी १८ वर्षीया छोरी रिनाकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरू अस्पतालमा उपचाररत छन्।

दुर्घटनापछि ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको नायब उपरीक्षक राईले बताए।
दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा सवारी चलाउने र लापरवाही दुर्घटनाको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...