बर्दिवासमा फरक क्षमता भएका बालबालिकाको स्वास्थ्य परीक्षण : समावेशी सेवाको थप एक कदम’

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
फरक क्षमता भएका बालबालिकाको स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले बर्दिवास नगरपालिकाले एकदिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बर्दिवास अस्पतालमा सम्पन्न सो कार्यक्रममा नगर भित्रका ५ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको हो।

महिला तथा बालबालिका शाखाको अगुवाइमा सम्पन्न कार्यक्रमले १७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरेको शाखाकी समन्वयकर्ता सुष्मा थापाले जानकारी दिइन्।“गम्भीर प्रकृतिका समस्या देखिएनन्, तर केही बालबालिकालाई सहायक उपकरण आवश्यक पर्ने देखिएको छ,” थापाले भनिन्।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, महोत्तरी उपशाखा बर्दिवासको सहकार्य उल्लेखनीय रह्यो। संस्थाका स्वयंसेवकहरूले बालबालिकालाई फलफुल वितरण गर्दै मनोबल अभिवृद्धिमा साथ दिएका थिए। रेडक्रसका प्रतिनिधिहरूले सामाजिक सहकार्यको माध्यमबाट मात्र फरक क्षमता भएका बालबालिकाको समुचित समावेशीकरण बिकास सम्भव हुने धारणा राखेका छन्।

बर्दिवास नगरपालिकाको तथ्यांकअनुसार नगर क्षेत्रको करिब २ प्रतिशत बालबालिका फरक क्षमता भएका छन्। नगरपालिकाले आगामी दिनमा उनीहरूको विस्तृत मूल्यांकन गरी सहायक सामग्री वितरण गर्ने तयारी गरिरहेको जनाएको छ।

नगरका योजनाकारहरूको भनाइमा यो कार्यक्रम बर्दिवास नगरपालिकाको समावेशी तथा सेवा–मुखी सोचको स्पष्ट प्रतिबिम्ब हो। “हामी बालबालिकाको अधिकारप्रति सजग छौं,”बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले भने“यिनीहरूलाई समाजको मूलधारमा ल्याउने हाम्रो दायित्व हो।”

नगरपालिकाले गर्ने यस किसिमको कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहमा पहुँचको विषय उठान गरेको छ। जस्ले फरक क्षमता भएका बालबालिकाको आत्मबल अभिवृद्धि र सामाजिक समावेशीकरणतर्फ समेत मार्ग प्रशस्त गरीरहेकोे छ।
बर्दिवास नगरपालिकाले गरेको यो कार्यक्रम केवल सेवा प्रदान गर्ने माध्यम मात्र होइन, यो मानव अधिकार,सामाजिक न्याय र दिगो विकासको संकेत पनि हो। स्वास्थ्य सेवा,आत्मबल र सामाजिक समावेशीकरणका तीनै पक्षमा प्रभाव पार्ने खालको यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा फरक क्षमता भएका बालबालिकाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्न सकिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...