आज्ञा खबर
सर्लाही
पूर्व–पश्चिम राजमार्गको सर्लाही खण्डमा आज दिउँसो भएको एक दर्दनाक सडक दुर्घटनामा एक प्रहरी जवानले ज्यान गुमाएका छन्। ईश्वरपुर नगरपालिका–५ स्थित फूलजोर चोकमा टिप्परको ठक्करबाट प्रहरी जवान मिनबहादुर दानीको मृत्यु भएको हो।
३० वर्षीय दानी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–६ निवासी थिए। उनी हाल सशस्त्र प्रहरी बल गण नं. १, गुल्म नं. २ नक्साल, काठमाडौंमा कार्यरत रहँदै मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पीएसओ (निजी सुरक्षा अधिकृत) का रूपमा खटिएका थिए।
प्रहरीका अनुसार दुर्घटना दिउँसो १ बजेतिर भएको हो। बयलवासबाट फूलजोरतर्फ आउँदै गरेका दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्बरको मोटरसाइकललाई रानिगञ्जबाट गइरहेको ना.१ क ८५२० नम्बरको टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारा स्थित एल.एस. न्यूरो अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय केशरगन्जले जानकारी दिएको छ।
स्थानीयहरूका अनुसार पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको क्रममा ठूलो संख्यामा टिप्पर प्रयोग भइरहेका छन्। तर ती सवारी साधन लापरवाही ढंगले सञ्चालन हुँदा दुर्घटनाको जोखिम दिनदिनै बढिरहेको छ। “निर्माणका नाममा निर्दाेषहरू मारिएका छन्, टिपरहरू त मान्छे नै किच्न थाले,“ एक स्थानीय बासिन्दाले दुख व्यक्त गरे।
मिनबहादुर दानीको असमायिक निधनले प्रहरी परिवार मात्र होइन, समग्र सुरक्षाकर्मी समुदाय शोकमा डुबेको छ। उनी आफ्नो कर्तव्यमा समर्पित, निष्ठावान सुरक्षाकर्मीको रूपमा चिनिएका थिए।
अब प्रश्न उठेको छ—के पूर्व–पश्चिम राजमार्गको विस्तारको नाममा नागरिकको ज्यान लिने यस्तो लापरवाही सह्य हुनसक्छ?
