आज्ञा खबर
बर्दिवास
गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई ’राइड सेयरिङ’ अन्तर्गत यात्रु बोक्न अनुमति दिएको विरोधमा यातायात व्यवसायीले आह्वान गरेको देशव्यापी आन्दोलनको प्रभाव सोमबार महोत्तरीको बर्दिवासमा पनि देखिएको छ। आन्दोलनका कारण आज यहाँबाट छुट्ने कुनै पनि सार्वजनिक बस सञ्चालनमा नआएपछि यात्रुहरू गन्तव्य नपुगी अलमलिएका छन्।
बर्दिवासबाट जनकपुर, हेटौंडा, वीरगञ्ज, नारायणघाट, विराटनगरलगायत पूर्वपश्चिमका प्रमुख सहरतर्फ दैनिक चल्ने लामो दूरीका सबै सार्वजनिक बस ठप्प छन्। सडकमा अवरोध नभए पनि व्यवसायीहरूले स्वेच्छाले गाडी नचलाएका कारण सेवा प्रभावित भएको हो।
बस नचलेपछि बर्दिवाससँग जोडिएका ग्रामीण बस्तीका स्थानीयवासी विशेष मारमा परेका छन्। अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानुपर्ने सर्वसाधारण, अस्पताल धाउने बिरामी र तिनका आफन्तदेखि अदालत तथा सरकारी कार्यालय धाउने सेवाग्राही सबैजसो असहज बनेका छन्।
यात्रु नपाउने स्थिति देखेर केही साना सवारी,टेम्पु, म्याजिक र अटोचालकले भने मौका छोपेर दोब्बर भाडा असुलेका छन्। बर्दिवास नगरपालिका–७ की सपना आलेका अनुसार,“सामान्य अवस्थामा बर्दिवासदेखि लालबन्दीसम्मको बस भाडा ८० रुपैयाँ मात्र हो। तर आज म्याजिकले १५० रुपैयाँ लिएर मात्रै सिट दियो।”
स्थानीय रुटमा चल्ने सवारीसाधन यथावत् रहे पनि लामो दूरीको यातायात सेवा ठप्प हुँदा यात्रुहरू निराश हुँदै फर्किएका छन्। कतिपय यात्रु बस काउन्टरमै बसेर केही गाडी खुल्ने आशामा प्रतीक्षारत देखिए।
यसैबीच, आन्दोलनकारी भने सडकमा प्रत्यक्ष नदेखिएका कारण यात्रुहरूमा अन्योलता छ। कुनै ठाउँमा तोडफोड वा धम्कीसमेत नदेखिएको हुँदा यात्रुहरू गाडी नचलेको वास्तविक कारणप्रति अझै अन्योलमा छन्।
यातायात व्यवसायीहरूले निजी सवारीसाधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न वैधानिकता दिनु आपत्तिजनक भन्दै सरकारसँग निर्णय फिर्ता लिन माग गरेका छन्। तर, यो आन्दोलनका कारण यात्रुहरूलाई परेको सास्ती र निजी सवारीबाट लिइएको अनाधिकृत भाडाले अझै ठूलो समस्या निम्त्याएको छ।
