आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिका वडा नं. १ अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको नमूना बनेको छ। सोमबार एक विशेष समारोहकाबीच वडालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना वडा’ घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा सहभागी वक्ताहरूले सर्वसुलभ, सर्वसमावेशी र पहुँचयुक्त स्वास्थ्य सेवाको आधारशिला खोप कार्यक्रम भएको उल्लेख गरे। स्थानीय स्वास्थ्यकर्मी र अधिकारीहरूले वडाभित्रका सबै बालबालिका, गर्भवती महिला र अन्य लक्षित समूहलाई आवश्यक सम्पूर्ण खोप समयमै उपलब्ध गराइएको पुष्टि गरे।
कार्यक्रममा बर्दिवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधि, वडा अध्यक्ष, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बर्दिवास नगरपालिका स्वास्थ्य शाखाका अनुसार, वडा नं. १ मा नियमित र विशेष खोप कार्यक्रम सञ्चालन गर्दै सबै लक्षित समूहमा यो सेवा पु–याइएको छ। यस प्रकारको उपलब्धिले वडावासीहरूमा स्वास्थ्यप्रति जागरूकता बढाउनुका साथै समग्र स्वास्थ्य प्रणालीमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष भोला खड्काले घोषणा सभामा बोल्दै सम्पूर्ण वडावासी, स्वास्थ्यकर्मी, स्वयंसेवक र सहकार्य गर्ने संघसंस्थाप्रति आभार प्रकट गरे। उनले भने, “खोप सुनिश्चितता दिगोपनासँग जोडिनु भनेको सुरक्षित भविष्य निर्माणतर्फको साझा प्रतिबद्धता हो।”
यस घोषणाले बर्दिवास–१ लाई ‘स्वास्थ्य सचेत र सुरक्षित समुदाय’को उदाहरणीय मोडेलका रूपमा स्थापित गरेको छ।
