आज्ञा खबर
बर्दिवास
राजनीतिक नेतृत्व भन्नासाथ धेरै मानिसको मानसपटलमा सत्ता, शक्ति र सुविधाको चित्रलाई झल्काउछ। तर केही व्यक्ति यस्ता पनि हुन्छन्, जसको उद्देश्य शासन होइन, सेवामा केन्द्रित हुन्छ। महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री यस्तै नेतृत्वगर्ने व्यक्तित्व भित्रका एक हुन्, जसले पदलाई सत्ताको प्रतीक होइन, जिम्मेवारीको अवसरको रूपमा लिएका छन्। उनले जनप्रतिनिधिको भूमिकालाई सेवा, समर्पण र समाधानको माध्यम बुझेर जनमुखखी बनाउँदै नगर विकासमा नयाँ आयाम थपिरहेका छन्।
हाल कार्यरत मेयर प्रह्लाद कुमार क्षेत्री बर्दिवासका कुशल ब्यवसायी पनि हुन ।
उनि सामाजिक क्षेत्रमा सक्रिय रहेर जनसमस्या बुझ्दै र समाधान खोज्दै अघि बढेका नेता समेत हुन्। उनले लामो समयदेखि बर्दिवासका जनताको दुःख–पिर बुझ्दै, नागरिक अधिकारका पक्षमा कामगर्दै, सामुदायिक विकासका कामकाज मार्फत समाजमा उपस्थितिको अनुभूति गराउँदै आएका थिए।
बर्दिवास नगरपालिका वडानम्बर १ को वडास्तरमा जनसरोकारका काममा संलग्न रहँदा उनले महसुस गरे कि परिवर्तन केवल कुरा गरेर मात्रै सम्भव हुँदैन; निर्णय तहमै पुग्नुपर्छ। यही सोचले उनी स्थानीय तहको दोश्रो निर्वाचनमा बर्दिवास नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार बने र जनताको साथ पाए।
मेयर क्षेत्रीले पद सम्हालेपछि पहिलो घोषणा यही थियो—“म मेयर होइन, तपाईंहरूको सेवक हुँ।“ यो केवल शब्द थिएन, उनले हरेक निर्णय, कार्यक्रम र नीतिमा यो भनाइलाई जीवन्त बनाएका छन्।
उनको कार्यशैली भिन्न छ—नगर कार्यालयमा कुर्सीमा बसेर आदेश दिने शैली होइन, फिल्डमा खटिने, जनतासँग प्रत्यक्ष संवाद गर्ने र तत्काल समाधान खोज्ने शैलीका साथ उनी हरेक वडामा पुग्छन्, त्यहाँका नागरिकसँग प्रत्यक्ष छलफल गर्छन्, समस्या सुन्छन् र समाधानकालागी पहल गर्छन्।
हाल प्रह्लाद क्षेत्रीको नेतृत्वमा बर्दिवासमा थुप्रै जनमुखी कार्यक्रमहरू सञ्चालनमा आएका छन
नागरिक सुनुवाइः नगरवासीले आफ्ना गुनासा, सुझाव र मागहरू राख्न सक्ने नियमित सुनुवाइ सञ्चालन गरिएको छ। बालबालिकादेखि वृद्धसम्मका आवाज सुनिन्छ र तिनको अभिलेखीकरणसहित कार्ययोजना तयार गरिन्छ।
बर्दिवास नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अन्तरगत बाल क्लबहरू सक्रिय बनाइएका छन्। विद्यालयस्तरमै बालबालिकाको सहभागिता सुनिश्चित गर्ने नीति ल्याइएको छ।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक दरबन्दि मिलान,तालिम, डिजिटल उपकरण प्रयोग, नियमित अनुगमन जस्ता कार्यक्रमहरु चलाइएको छ।
नगरका सबै योजना, बजेट र निर्णयहरू वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी गराइन्छ। समय समयमा गराईने सार्वजनिक सुनुवाइ कार्यक्रमले कार्यसम्पादनमा जवाफदेहिताको भावनालाई बलियो बनाएको छ।
बर्दिवास नगर महोत्तरी जिल्लाकै सुदुरउतरवर्ती एक सुन्दर नगरपालिका हो, जहाँ विभिन्न जातजाति, भाषाभाषी र सामाजिक पृष्ठभूमिका मानिसहरूको बसोबास छ। यहाँ विकासका लागि आवश्यक स्रोत, भूगोल र राजनीतिक दबाबहरूका बाबजुद, पनि मेयर क्षेत्रीले समावेशी र सन्तुलित दृष्टिकोण अपनाएका छन्।
सडक निर्माण, नाला व्यवस्थापन, शुद्ध खानेपानी, शिक्षा, स्वास्थ्य, र रोजगारीकालागी शिपमुलक तालिम जस्ता मूलभूत विषयहरूमा विशेष ध्यान दिइएको छ। नगरपालिकामा कार्ययोजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागिता अनिवार्य बनाइएको छ।
नगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउन सूचना प्रविधिको प्रयोग तीव्र गरिएको छ। अनलाइन सेवा प्रणालीमार्फत जन्मदर्ता, मृत्यु दर्ता, विवाहदर्ता, नगरप्रमाणपत्र लगायतका सेवा डिजिटाइज गरिएको छ। साथै, ’बर्दिवास स्मार्ट एप’को विकासको तयारीमा छ, जसबाट नागरिकले नगरसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।
त्यसका साथै नगर क्षेत्रको पर्यावरण संरक्षणका लागि ’हरियाली अभियान’ चलाइएको छ। प्रत्येक वडामा वृक्षारोपण, फोहरमैला व्यवस्थापन जस्ता अभियान सञ्चालनमा छन्। नगर कार्यालय परिसरदेखि विद्यालय, बजार क्षेत्र र धार्मिक स्थलसम्म सरसफाइमा सामूहिक सहभागिता गराइएको छ।
रातु नदीको उकास जग्गामा रामजानकी फन पार्कको निर्माण गर्र्ने योजना अघि बढाइएको छ। बर्दिवासको सम्भावनालाई ’हरित नगर’ को मोडेलमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
प्रह्लाद क्षेत्रीको नेतृत्वले एउटा कुरा प्रमाणित गरेको छ—विकास सम्भव छ, यदि इच्छाशक्ति छ भने। उनले प्रशासनलाई जनमैत्री बनाए, कर्मचारीलाई उत्तरदायी बनाए, जनतालाई सहभागी गराए। आफ्नो कार्यकालमा ’पावर पोलिटिक्स’ होइन, ’पब्लिक सर्भिस’ लाई केन्द्रमा राखे।
क्षेत्रीको कार्यकालमा नगरभित्रका बिपन्न बर्गकालागि नगरको श्रोतबाट उपचार खर्च अपाङ्गता भएका व्यक्तिका लागि विशेष सेवा,महिलाहरूका लागि सीपमूलक तालिम, युवा उद्यमशीलताको प्रवद्र्धन, यि सबै बिषयमा समावेशी सोच लागू गरिएको छ।
बर्दिवास नगरपालिकामा आज नेतृत्वको एउटा भिन्न अनुहार देखिन्छ—जहाँ मेयर क्षेत्री जनता खोज्दै घरदैलोमा पुग्छन्, जहाँ योजनाहरू भाषणमा होइन, काममा देखिन्छन्, जहाँ पद प्रतिष्ठा होइन, जिम्मेवारी को बास्तविक अनुहार झल्किन्छन
प्रह्लाद कुमार क्षेत्रीले देखाएको सेवा–केन्द्रित नेतृत्वले केवल बर्दिवासका नागरिकलाई मात्र होइन, सम्पूर्ण नेपालका स्थानीय शासनको परिकल्पनालाई नयाँ ढाँचामा प्रस्तुत गरेको छ। यो नेतृत्व अनुकरणीय छ। जस्ले भोलिको नेतृत्व शिक्षित, संवेदनशील र जनप्रेमी बनाउने प्रेरणा मिलेको छ ।





































