नारायणी अस्पतालको आइसीयू र सिसीयूमा दुई घण्टाभन्दा बढी अन्धकार, तर जोगिए १७ बिरामी

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
नारायणी अस्पतालको सघन कक्ष (आइसीयू) र हृदय उपचार कक्ष (सीसीयू) जस्ता अति संवेदनशील स्थानमा शुक्रबार राति करिब दुई घण्टा ३० मिनेटसम्म विद्युत सेवा अवरुद्ध हुँदा एकैछिन त सबैको मुटु ढुकढुकायो। त्यस समयमा १७ जना गम्भीर अवस्थाका बिरामी उपचाररत थिए।

विद्युत् आपूर्ति राति १०ः३० बजेबाट शनिबार बिहान १ः०० बजेसम्म अवरुद्ध रहँदा, आकस्मिक अवस्थाका बिरामीहरूको ज्यान जोखिममा पर्न सक्ने अवस्था थियो। तर चिकित्सक र नर्सहरूको सतर्कता र तत्कालीन समन्वयका कारण ठूलो क्षति हुनबाट अस्पताल जोगिएको छ।

“मोबाइलको बत्ती बालेर बिरामीको उपचार गर्नु परेको थियो,” एक नर्सिङ स्टाफले भनिन्, “त्यसबेला हामी सबै आ–आफ्नो ठाउँमा होसियार भएर खटियौं।”

अस्पताल प्रशासनले समयमै ध्यान नदिएको कारण विद्युत् अवरुद्ध भएको बताइएको छ। अस्पतालकै भनाइमा, कमजोर तार जडान (वायरिङ) नै घटनाको मूल कारण हो।

घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयले गम्भीर चासो जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले शनिबार अस्पताल प्रशासन, चिकित्सक, नर्स, इलेक्टिसियन लगायत सबै सरोकारवालासँग संयुक्त बैठक राखे।

प्रजिअ अर्यालले भने, “आइसीयू र सीसीयूजस्तो संवेदनशील कक्षमा साढे दुई घण्टासम्म बिजुली जानु अत्यन्त गम्भीर लापरबाही हो। यदि त्यसबेला कसैको ज्यान गएको भए जिम्मेवारी कसले लिने थियो?” उनले यस्ता गल्ती दोहोरिन नदिन चेतावनी पनि दिए।

प्रहरी प्रमुख मिश्रले इलेक्टिसियनजस्ता प्राविधिक कर्मचारीलाई २४सै घण्टा अस्पतालमा उपस्थित गराउन निर्देशन दिएका छन्। “सघन कक्षमा बत्ती जानु अनि त्यो समयमा इलेक्टिसियन अनुपस्थित हुनु गम्भीर कुरा हो,” उनले भने।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यो घटना अत्यन्त दुःखद र चिन्ताजनक भएको भन्दै आगामी दिनमा यस्तो दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार, आइसीयूमा दुई जना बिरामीको अवस्था गम्भीर थियो, जसलाई अर्को अस्पताल लैजाने तयारी भइसकेको थियो। “तर त्यत्तिकैमा बत्ती आयो र हामीले राहतको सास फ्याल्यौं,” उनले भने।

यस घटनाले अस्पतालको आपतकालीन तयारी र विद्युत् आपूर्तिमा सुधारको खाँचो देखाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...