आज्ञा खबर
जनकपुरधाम
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र–एक सडक’ अवधारणाअन्तर्गत ६४ वटा सडक निर्माणको शिलान्यास गरेका छन। जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले विद्युतीय रूपमा एकैपटक यी आयोजनाको शिलान्यास गरेका हुँन ।
भौतिक पूर्वाधार विकास मन्त्रालय को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी भएकाहरूले यस क्षणलाई मधेश प्रदेशको पूर्वाधार इतिहासमा एक माइलस्तम्भको रूपमा स्मरण गरे। प्रदेश सरकारले प्रधानमन्त्रीप्रति आभार प्रकट गर्दै उक्त योजना सफल कार्यान्वयनतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार आठ जिल्लाका ६४ प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३सय२० किलोमिटर पक्की सडक निर्माण गरिनेछ। कालोपत्रसहितको यो सडक आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ, जसमा अनुमानित लागत १२ अर्ब ७० करोड रुपैयाँ हुनेछ।
भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार स्रोत सुनिश्चित भइसकेको छ र ठेक्का प्रक्रिया पनि सकिएको छ। “अब निर्माणले तीव्रता लिनेछ,” मन्त्री यादवले भने,
पहिलो चरणमा अघि बढाइएको ३२० किलोमिटर सडक परियोजनामध्ये २०० किलोमिटरभन्दा बढीको काम सम्पन्न भइसकेको र बाँकी सडकको निर्माण कार्य द्रुत गतिमा भइरहेको जानकारी दिइएको छ।
निर्माणाधीन सडकको चौडाइ साढे पाँचदेखि सात मिटरसम्म रहनेछ भने प्रत्येक निर्वाचन क्षेत्रमा एकवटा पक्की पुल पनि निर्माण गरिनेछ। साथै, वातावरणमैत्री प्रविधिको प्रयोगमार्फत जलवायु परिवर्तनको प्रभाव न्यून पार्ने प्रयास गरिने प्रदेश सरकारको भनाइ छ।
मन्त्री यादवले योजना पूरा भएपछि यातायात सुविधाबाट वञ्चित गाउँहरू सञ्जालमा जोडिने, व्यापारिक गतिविधि सशक्त हुने र ग्रामीण उत्पादन बजारसम्म पु¥याउन सहज हुने विश्वास व्यक्त गरे।
