आजपाका अध्यक्ष प्रभु साहको आरोप: “दलतन्त्रको नाममा मुलुक लुटियो, अन्तरिम सरकारको खाँचो छ”

[sharethis-inline-buttons]

आज्ञा खबर
वनकपुरधाम

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा पछिल्ला दिनमा देखिएको आर्थिक, राजनीतिक र प्रशासनिक संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान सत्तालाई ‘दलाल दलतन्त्र’ को संरक्षकको रूपमा चित्रित गरेका छन्।

शनिबार जनकपुरधाममा आजपाले आयोजना गरेको ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ भन्ने मूल नारासहितको बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको वर्तमान संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने र अन्तरिम सरकार गठन हुनुपर्ने धारणा राखे।

उनले भने, “देशमा भ्रष्टाचार, लुट, विभेद र बेथिति असह्य रुपमा बढेको छ। गणतन्त्र बदनाम बनाउने यो दलाल चरित्रलाई अन्त्य नगर्दासम्म मुलुकको उद्धार सम्भव छैन।”

बजेटप्रति गम्भीर आपत्ति

अध्यक्ष साहले सरकारले ल्याएको बजेटमाथि पनि कडा आलोचना गरे। उनले वर्तमान बजेटले न त मुलुकको आर्थिक संकट सम्बोधन गर्न सकेको न त आम जनताको निराशा घटाउन सकेको दाबी गरे। विशेषगरी कर्णाली र मधेस जस्ता पछाडि पारिएका क्षेत्रलाई बजेटमा विभेद गरिएको आरोप उनले लगाए।

“सरकारको नीति जनमुखी हैन, बिचौलियामुखी छ,” उनले भने, “२५ प्रतिशत पूँजी विदेश लैजाने प्रावधानमार्फत सरकारले अर्थतन्त्र नै डुबाउने बाटो खोलेको छ।”

सीमावर्ती क्षेत्रमा लुटतन्त्रको आरोप

कार्यक्रममा अध्यक्ष साहले सीमावर्ती क्षेत्रमा सुरक्षा निकायमार्फत नेपाली जनताको निजी सम्पत्ति लुटिएको आरोप पनि लगाए। उनले नक्कली भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र भन्सारको नाममा भएको निजी सम्पत्ति कब्जामाथि प्रश्न उठाउँदै सरकारलाई कडो चेतावनी दिए।

“सरकार स्वयं दलाल वर्गको संरक्षणमा लागिरहेको छ,” साहले आरोप लगाए, “नेपाली जनताको श्रम, पूँजी र सम्पत्तिलाई लुट्ने कार्य हामीलाई स्वीकार्य छैन।”

नेताहरूको सहभागीता

आजपा मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रिय नेताहरू रीता देवी साह, अशोक लामा, बिल्टू यादव, श्रीचन मुखिया, राधेश्याम साह लगायतको सक्रिय उपस्थिति रहेको थियो।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...