मलङ्वा भन्सारमा सशस्त्र प्रहरी डिएसपीको ‘बुट प्रहार’ : अनुशासन र नेतृत्वमाथि गम्भीर प्रश्न

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही

सर्लाहीको मलङ्वा भन्सार कार्यालय परिसरमा वैशाख २९ गते घटेको एक घटनाले सशस्त्र प्रहरी बलको अनुशासन, नेतृत्व क्षमतासहित संस्थागत आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

सीमा सुरक्षा गुल्म टावर चौकका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) सुमन ढुङ्गाना स्वयंले सशस्त्र प्रहरीका वरिष्ठ सहायक हवल्दार उदब चौलागाईंमाथि सार्वजनिक रूपमा बुट प्रहार गरेका छन्। झन् गम्भीर कुरा के भने, उक्त प्रहार डिएसपी ढुङ्गानाले सिभिल ड्रेसमै गरेका थिए — त्यो पनि कार्यालय परिसरमै।

घटना त्यतिबेला सुरु भयो, जब मलङ्वा नगरपालिका–२ का वडाध्यक्ष धिरेन्द्र साह भन्सार कार्यालय प्रवेश गर्दा हवल्दार चौलागाईंले सुरक्षा प्रक्रियाअनुसार इन्ट्री गर्न आग्रह गरे। सोही सामान्य प्रक्रिया विवादको कारण बन्यो। अवस्था जटिल हुँदै गएपछि डिएसपी ढुङ्गाना घटनास्थलमा पुगे। तर, विवाद समाधान गर्ने जिम्मेवारी बोकेका ढुङ्गानाले उल्टै हवल्दार चौलागाईंमाथि बुट प्रहार गरे।

एक भन्सार कर्मचारीका अनुसार, “ड्युटीमा रहेका आफ्नै मातहतमाथि सिभिल ड्रेसमा आएर सार्वजनिक रूपमा कुटपिट गर्नु अत्यन्त आपत्तिजनक हो। यसले सशस्त्र प्रहरी संगठनको गरिमा र मर्यादामाथि गम्भीर प्रश्न उठाएको छ।”

प्रत्यक्षदर्शीहरू र अन्य कर्मचारीहरूको भनाइमा, डिएसपीको उक्त व्यवहार सशस्त्र प्रहरीको आचरण निर्देशिकाविपरीत मात्रै होइन, एक उच्च पदस्थ अधिकृतबाट अपेक्षित व्यावसायिकता र संयमको पनि उल्टो प्रतिबिम्ब हो।

घटनापछि भन्सार परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थानीयबीच सुरक्षाकर्मीको भूमिकामाथि आशंका बढेको देखिएको छ।

सुरक्षा निकायभित्र अनुशासन र नेतृत्वको विश्वसनीयता कायम राख्न यस्तो व्यवहारको छानबिन र आवश्यक कारबाहीको माग उच्च हुँदै गएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...