बर्दिबासमा ४० केजी गाँजासहित कार र युवक नियन्त्रणमा

आज्ञा खबर
बर्दिबास
महोत्तरीको बर्दिबास नगरपालिकामा प्रहरीको संयुक्त टोलीले अबैध लागुऔषध गाँजासहित एक इभी कार र एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गए राति करिब ९ः३० बजे, बर्दिबास–५ स्थित गौसला रोडको दक्षिण स्थानमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब निरीक्षक मीन रावल र मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले विशेष चेकजाँचका क्रममा बा.०१–०३० च.७८०५ नम्बरको सेतो रङको प्राइभेट इभी कारमा ठूलो मात्रामा गाँजा फेला पारेको हो।

उक्त सवारी साधन माईस्थानबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा शंका लागि रोकेर चेकजाँच गर्दा कारभित्र कालो झोला २ वटा, जेब्रा झोला १ वटा तथा डिक्कीमा प्लास्टिकले बेरिएको, डोरीले बाँधिएको अवस्थामा लुकाएर राखिएको ८ पोका गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। प्रत्येक पोका करिब ५ केजी तौलको रहेकाले कुल ४० केजी गाँजा फेला परेको हो।

साथै उक्त कारमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–११ निवासी ज्ञानबहादुर स्याङताङका ३१ वर्षीय छोरा रंगलाल स्याङताङलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। बरामद गरिएको गाँजा, इभी कार र पक्राउ परेका व्यक्ति आवश्यक अनुसन्धान तथा कारबाहीको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

बिग केही समय यता बर्दिवास प्रहरीले लागुऔषध नियन्त्रणमा कडाइका साथ निगरानी बढाएको जनाउँदै आगामी दिनमा पनि यस्ता अवैध क्रियाकलापविरुद्ध कडाइका साथ कारबाही गरिने प्रतिबद्धता जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...