आज्ञा खबर
बर्दिवास
महोत्तरी प्रहरीले एक युवकलाई कारमा लुकाएर ल्याउँदै गरिएको एक क्विन्टलभन्दा बढी गाँजासहित नियन्त्रणमा लिएको छ।
शुक्रबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित रामगोपालपुर चोकमा विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेशको बीएसी ८७३९ नम्बरको कार रोकेर जाँच गर्दा पछाडिको डिक्कीमा लुकाएर राखिएको १०७.९ किलोग्राम गाँजा फेला परेको प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए।
प्रहरीका अनुसार कारमा सवार दोलखाको बैदेश्वरी गाउँपालिका–६ घर भएका २६ वर्षीय दीपक दाहाललाई घटनास्थलबाटै पक्राउ गरिएको छ। लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





































