आज्ञा खबर
सर्लाही
कराते खेलको उत्कर्षको खोजीमा लालबन्दी पुनः एक पटक राष्ट्रिय स्तरको प्रतिस्पर्धाको केन्द्र बनेको छ। आजदेखि सर्लाहीको लालबन्दीमा तेश्रो क्योकुसिन कान कराते खुल्ला राष्ट्रिय प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ।
लालबन्दी नगरपालिका–७ डुमडुमेस्थित कृषि विकास बैंकको चौरमा सुरु भएको प्रतियोगिता नेपाल क्योकुसिन कान कराते संघ सर्लाहीले आयोजना गरेको हो। प्रतियोगिता लालबन्दी नगरपालिकाको सहकार्यमा सम्पन्न हुँदैछ।
उद्घाटन समारोह संघका जिल्ला सचिव शशी देवकोटाको अध्यक्षता र प्रदेशसभा सदस्य बेची लुङ्गेलीको प्रमुख आतिथ्यता साथै नगरप्रमुख वासुदेव अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतियोगितामा देशका विभिन्न भागबाट आएका १२० भन्दा बढी कराते खेलाडीहरू सहभागी छन्। आयोजकका अनुसार, पुरुषतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले आकर्षक पुरस्कारस्वरूप एक थान साइकल प्राप्त गर्नेछन्। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र राष्ट्रिय एकताको सन्देश दिनुका साथै युवा पुस्तामा करातेप्रतिको आकर्षण बढाउने विश्वास आयोजकको छ।
