कृषि क्षेत्रमा महिलाको सशक्त उपस्थिति: मधेश सरकारले १,००४ महिला कृषक स्वयंसेविका परिचालन गर्ने

आज्ञा खबर
धनुषा

मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा महिलाको सहभागिता बढाउँदै १,०४४ जना महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ। ‘महिला कृषक स्वयंसेविका कार्यक्रम’ अन्तर्गत सुरु हुन लागेको यो अभियानले स्थानीय स्तरमै कृषकसँग प्रत्यक्ष सम्पर्क गरेर सेवा प्रवाह गर्ने उद्देश्य लिएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रत्येक वडामा एक–एक जना महिला कृषक स्वयंसेविका नियुक्त गरिनेछ। उहाँले स्वास्थ्य क्षेत्रमा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकाको सफलताबाट प्रेरित भएर कृषि क्षेत्रमा पनि यस्तै स्वयंसेविका प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो।

“स्वास्थ्य क्षेत्रमा जस्तै, अब कृषि क्षेत्रमा पनि सेवा दिने समय आएको छ,” मुख्यमन्त्री सिंहले भने, “हामी अन्न उत्पादनमा आत्मनिर्भर बन्न चाहन्छौं, र यो कार्यक्रम त्यस दिशातर्फको महत्वपूर्ण कदम हो।”

रोजगारी र आत्मनिर्भरताको सम्भावना

मुख्यमन्त्री सिंहका अनुसार यो योजना रोजगारी सिर्जना गर्ने मात्र होइन, मधेशको समृद्धिका लागि पनि महत्वपूर्ण साबित हुनेछ। “मधेश श्रमप्रधान प्रदेश हो,” उहाँले भन्नुभयो, “हामी अब युवालाई आफ्नै भूमिमा कृषि श्रम गर्न प्रेरित गर्नेछौं।”

कार्यक्रम अन्तर्गत स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइनेछ। उनीहरूले बीउ उत्पादन, किरा नियन्त्रण, मल व्यवस्थापन र कृषि प्रवर्धनजस्ता विषयमा स्थानीय कृषकहरूलाई सहयोग गर्नेछन्। साथै, यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ।

आवेदन खुला

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जेठ १५ गते सूचना जारी गरी दरखास्त आह्वान गरिसकेको छ। इच्छुक महिलाहरूले आगामी १५ दिनभित्र नजिकको कृषि ज्ञान केन्द्रमा आवेदन दिन सक्नेछन्।


  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...