आज्ञा खबर
बर्दिबास
प्रविधिको तीव्र विकाससँगै स्थानीय तहहरूमा समेत प्रशासनिक सुधारको लहर चल्न थालेको छ। यसैलाई पछ्याउदै बर्दिबास नगरपालिकाले यहि जेष्ठ १ गतेदेखि लागू गरेको ’इ–हाजिरी प्रणाली’ त्यही परिवर्तनको एउटा सशक्त उदाहरण बनेको छ। यो प्रणाली लागू भएसँगै नगरपालिकाले कर्मचारी व्यवस्थापनमा ठूलो फड्को मारेको दखिएको छ। अहिले नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरू तथा बर्दिबास अस्पतालमा डिजिटल हाजिरी अनिवार्य भएको छ। जस्ले गर्दा परम्परागत कागजी हाजिरी प्रणाली पूर्णतः विस्थापित गरिएको हो।
इ–हाजिरी प्रणाली भनेको कर्मचारीहरूले कार्यालयमा आउने र जाने समय डिजिटल उपकरणहरू — विशेषगरी मोबाइल वा बायोमेट्रिक प्रणाली — मार्फत अभिलेख गराउने प्रक्रिया हो। यस प्रणालीले कर्मचारीको उपस्थिति, समयको पालन, र कार्यशैलीमा पारदर्शिता ल्याउँछ। बर्दिबास नगरपालिकाले यो प्रणाली कार्यान्वयनमा ल्याएर कर्मचारीहरूमाथि निगरानी बढाउनुका साथै सेवा प्रवाहमा पनि गुणस्तर ल्याउने संकेत गरेको छ।
इ–हाजिरीले के परिवर्तन ल्यायो?
१. कार्यालय समयको कडाइपूर्वक पालना
पहिले देखिएको मनोमानी र ढिलासुस्तीलाई इ–हाजिरीले धेरै हदसम्म नियन्त्रणमा ल्याएको छ। अब कर्मचारीले निश्चित समयमा कार्यालय आउनैपर्छ, किनभने प्रणाली आफैंले समयको रेकर्ड राख्दछ। यो प्रणाली लागू भएपछि कार्यालयमा समयको पालना नहुँदा कर्मचारीलाई प्रत्यक्ष असर पर्ने भएकाले सबैले समयको पालना गर्न थालेका छन्।
२. सुशासन प्रवर्धन
लोकतन्त्रको मेरुदण्ड नै सुशासन हो। इ–हाजिरी प्रणालीले स्थानीय सरकारका कामकाज पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउँछ। सेवाग्राहीले पनि कर्मचारीको उपस्थिति पुष्टि गर्न सक्छन्। कर्मचारीको कार्य सम्पादनबारे ठोस तथ्यांक जुट्ने भएकाले प्रशासकीय निर्णय पनि प्रमाणमा आधारित हुने सम्भावना बढेको छ।
३. कार्यसम्पादनमा सुधार
जब कर्मचारीहरू निर्धारित समयमा कार्यालयमा उपस्थित हुन्छन्, तब स्वाभाविक रूपमा कार्यसम्पादनमा पनि सुधार आउँछ। समयमै सेवाग्राहीसँगको सम्पर्क, फाइलहरूमा छिटो निर्णय, र सुसंगठित सेवा प्रवाह इ–हाजिरीको प्रत्यक्ष प्रभाव हो।
४. परम्परागत हाजिरीमा हुने वेथिति अन्त्य
परम्परागत हाजिरी प्रणालीमा ’घोस्ट हाजिरी’ वा अरूको नाममा हाजिरी गराउने जस्ता बेथिति प्रायः देखिन्थे। इ–हाजिरीले यस्तो अभ्यासको पूर्ण अन्त्य गरेको छ। अब हाजिरी व्यक्तिगत मोबाइल वा बायोमेट्रिक प्रविधिबाट हुने भएकाले कसैले अर्काको नाममा हाजिरी गराउने सम्भावना छैन।
५. सेवाग्राहीको पहुँच सजिलो
इ–हाजिरी प्रणालीले कर्मचारीहरूको वास्तविक उपस्थिति पुष्टि गरिदिने भएकाले सेवाग्राहीले सम्बन्धित कर्मचारीलाई कार्यालयमा भेट्ने सम्भावना पनि बढेको छ। यसले सेवाप्रवाहमा सहजता ल्याउनुका साथै जनतामाझ प्रशासनप्रतिको विश्वास पनि बढाएको छ।
६. निगरानी सजिलो र प्रभावकारी
बर्दिबास नगरपालिकाले नगर क्षेत्रका सबै वडा कार्यालयहरूमा जडान गरिएका सिसिटिभी क्यामेराहरूलाई केन्द्रिकृत प्रणालीमार्फत नगर कार्यपालिकाको कार्यालयमा निगरानी गर्न थालेको छ। यो प्रणालीले २४ सै घन्टा कर्मचारीको गतिविधि नियाल्न सकिने भएकाले अनुशासन र सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ।
बर्दिबास नगरपालिकाले इ–हाजिरी प्रणालीको स्थायीत्व र प्रभावकारिताका लागि प्रविधिमा लगानी गर्दै कर्मचारीलाई तालिम प्रदान गरेको छ भने आवश्यक सफ्टवेयर तथा हार्डवेयर समेत जडान गरेको छ। त्यसैले अब नगरपालिकाको लक्ष्य यो प्रणालीलाई थप परिमार्जन गर्दै सँगसँगै अनलाइन कार्यसम्पादन मूल्यांकन प्रणाली पनि लागू गर्ने हो।
बर्दिबास नगरपालिका र यस्को मातहतमा रहेका संघ संस्थालाई पारदर्शी, जवाफदेही र प्रविधिमा आधारित बनाउने संकल्पका साथ अगाडि बढिरहेका छौं भन्छन नगरप्रमुख प्रह्लाद कुमार क्षेत्री उनले भने, त्यसै अन्तरगतको इ–हाजिरी हाम्रो योजनाको पहिलो पाइला हो।“
यसैक्रममा कर्मचारी युनियनका एक प्रतिनिधिले भने,“शुरुमा केही असहजता भए पनि प्रणाली स्थायी भएपछिको फाइदा देख्न थालिएको छ। अब इमानदारीका साथ काम गर्नेलाई सम्मान मिल्नेछ।“
बर्दिवास नगरपालिका वडानम्बर १मा सेवालिन पुगेकी सेवाग्राही सिता खनाल भन्छिन्“हिजोआज वडा कार्यालय पुग्दा पहिलेको जस्तो पर्खिरहनु पर्दैन। सम्बन्धित कर्मचारी तुरुन्तै भेटिन्छन्।“
यसरी बर्दिबास नगरपालिकाले लागू गरेको इ–हाजिरी प्रणाली केवल प्राविधिक सुधार मात्र होइन, स्थानीय शासनको संस्कृतिमा नै आमूल परिवर्तन ल्याउने संकेत हो। पारदर्शिता, जवाफदेहिता र सेवामुखी प्रशासनका लागि यस्तो प्रणाली अनुकरणीय बन्दैछ।
नगरपालिकाको यस प्रयासले बर्दिबासलाई प्रविधिमैत्री नगरको रूपमा स्थापित गर्दै अन्य स्थानीय तह हरूलाई पनि प्रेरणा दिनेछ। सुशासनको मार्गमा टेकिएको यो डिजिटल पाइला भविष्यमा अझ गहिरो सुधारको आधार बन्नेमा कुनै शंका छैन।





































