आज्ञा खबर
वीरगन्ज
वीरगन्जमा सञ्चालन गरिएको मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेटको उपाधि वीरगन्ज बार्ससले जितेको छ।
बुधबार राति आर्दशनगर रंगशालामा सम्पन्न फाइनल खेलमा बार्ससले टाइटन–११लाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको टाइटन–११ ले १५ ओभरमा ४ विकेट गुमाउँदै ७५ रन बनाएको थियो। जवाफमा वीरगन्ज बार्ससले ७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा ७८ रन बनाउँदै सहज जित निकाल्यो।
उपाधिसँगै विजेता टोलीले नगद रु. २ लाख ५१ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टाइटन–११ लाई रु. २ लाख र प्रमाणपत्र प्रदान गरिएको छ।
पुरस्कार वितरण समारोहमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए।
