गणतन्त्रको अनुभूति अस्पतालको शैयामा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
गणतन्त्र, केवल शासनको प्रणाली मात्र होइन, जनताको मन, भावना र सहभागितासँग जोडिएको मूल्यमा आधारीत प्रणाली हो। नेपालको गणतन्त्रले १६ वर्षे यात्रा पार गर्दा बिस्तारै यसको व्यवहारिक पक्ष जनजीवनमा देखिन थालेको छ। यसै सन्दर्भमा गणतन्त्र दिवस २०८२ को अवसरमा बर्दिवास नगरपालिकाले गरेको एक सानो तर भावनात्मक कार्यक्रमले गणतन्त्रको आत्मालाई नजिकबाट महसुस गराएको छ।

बर्दिवास नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा नगर अस्पतालमा उपचारत बिरामीहरूलाई फलफूल वितरण गर्दै संवेदना र सहानुभूतिको सन्देश फैलाएको छ। दिवसको अवसरमा प्रभातकालिन समयमा गरीएको कार्यक्रम औपचारिक मात्र होइन,आत्मीय पनि बन्यो। बिरामीको शैयामा नजीक बसेर उनिहरुलाई फलफूल थमाउने नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीको व्यवहार, उप–प्रमुख तारादेवी महतोको सौम्य मुस्कान र प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीको अनुशासनको स–मिश्रणले यो कार्यक्रम एउटा मानवीय कथामा परिणत भयो।

गणतन्त्र दिवसको दिन बिहानै नगर अस्पतालको वातावरण केही भिन्न देखिन्थ्यो। सामान्यतया औषधिको गन्ध र चिकित्सकीय चटारोले भरिने त्यो ठाउँ बिहिवार हल्का उत्सवमय देखिन्थ्यो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा स्वयं अस्पताल प्रवेशद्वारमा अतिथिहरूको स्वागत गर्दै थिए। जनप्रतिनिधिहरूको आगमनसँगै बिरामी र तिनका आफन्तको अनुहारमा उत्सुकता झल्किन थाल्यो।

कार्यक्रम लामो थिएन कार्यक्रममा भाषण थिएन, व्यवहार मात्रै देखिन्थ्यो फलफूलको झोला पिउने पानीको बोतल लिएर नगर प्रमुख स्वयं एक–एक बिरामी नजिक पुगेर “तपाईंको स्वास्थ्यमा चाँडै सुधार होस”अहिले तपाईलाई कस्तो,छ भनेर बोलेका शब्दहरूले अस्पतालको शान्त वातावरणमा सहानुभूतिको गुञ्जन फैलायो।
बर्दिवासको सरकारी नगर अस्पतालको शैयामा
उपचार गराईरहेकी ५२ वर्षीया मिनादेवी महतो नगर प्रमुखको हातबाट फलफूल पाउँदा छक्क परिन्। उनले भनिन्“मैले त जिन्दगीमा पहिलोपटक नेता आएर यस्तो ठाउँमा बसेर मेरो स्वास्थ्यको चासो राखेको देखें। यसले मलाई साँच्चिकै फरक अनुभूति दिलायो।”

यस्तै, अस्पतालमा उपचार गराउन भर्ना भएका बर्दिवास २ का ७१ वर्षिय हरीप्रसाद गिरीले समेत जनप्रतिनिधिको आगमनले आफूलाई एकछिनको लागि पनि राहत महसुस भएको बताए। उनले भने“उहाँहरू नेता होइन,आज त हाम्रो आफ्नै घरको आफन्त आए जस्तो लाग्यो”

कार्यक्रममा नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले आज्ञा खबर अनलाईन पत्रिकाका पत्रकार माधब प्रसाद पौडेलसंग भने, “गणतन्त्र केवल शासन प्रणाली होइन, यो व्यवहार हो। हामीले जनतालाई नजिकबाट बुझ्नुपर्छ। त्यही भावना बोकेर आज हामी यहाँ आएका हौँ।”

नगरवासी प्रतिको सेवा भाव नगरका जनप्रतिनिधिको मुख्य धर्म भएको उल्लेख गर्दै उनले भने“बिरामीहरूप्रति हाम्रो कर्तव्य छ। हामी जनताको प्रतिनिधि हौँ, अनि जनता नै हाम्रो सबैभन्दा ठुलो शक्ति हुँन। त्यसैले आजको यो कार्यक्रम जनताको पीडा बुझ्ने एउटा सानो प्रयास हो।”

यसरी सेवा भावसँग जोडिएको राजनीति बिस्तारै नागरिकको तहसम्म पनि झर्ने संकेत बर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीभित्र देखिन थालेको छ। बर्दिवास नगरपालिकाले स्वास्थ्य सेवा र जनसरोकारका विषयमा लिएको सक्रियताको यो एक ज्वलन्त उदाहरण हो।
नेपालमा गणतन्त्र स्थापनापछि देशको शासन ढाँचा परिवर्तन भयो, तर नेताहरुको मानसिकता परिवर्तनको यात्रा अझै बाँकी नै छ। यद्यपि,बर्दिवास नगरपालिकाले बिभिन्न समयमा गर्ने गरेको यस्ता कार्यक्रमले देखाउँछकी जनप्रतिनिधिहरू जब जनताको दुख सुखमा सँगै हुने अभ्यास गर्छन् तब गणतन्त्रको आत्मा बलियो हुन्छ।

स्थानीय तहमा गणतन्त्रको आत्मा बुझाउने यस्तो खालका स –साना गतिविधिहरूले दीर्घकालीन प्रभाव पार्न सक्छन्। जनताले जब जनप्रतिनिधिमा आफ्नो प्रतिबिम्ब देख्न थाल्छन्, शासन प्रणाली सच्चै जनमुखी बन्छ।
गणतन्त्र लगायत बिभिन्न दिवसको अवसरमा आयोजित यस्ता कार्यक्रमहरुले केवल परम्परा पालना गर्ने औपचारिकता मात्रै निभाउदैनन,जनतासंगै साथरहने संकेत समेत दिन्छन्—स्थानिय सरकारका प्रयासबाट गरीने यस्ता सेवाभाबका कार्यक्रमले नगरप्रमुख क्षेत्री जस्ता नेताहरू अब शासकको रूपमा होइन,सेवकको रूपमा प्रस्तुत भइरहेको देखिन्छ। बर्दिवास नगरपालिकाले गरेको यो सानो कामले आज ठूलो सन्देश दिएको छ । जस्ले प्रस्ट पारेको छ की जनताको सेवा, सहानुभूति र सरोकारमै गणतन्त्रको भविष्य अडिएको छ।

बर्दिवास नगरपालिकाको सेवामुखी यस्तो कदमहरुले गणतन्त्र अब भाषणको विषय होइन, व्यवहारको अभ्यास बन्नुपर्छ।
जब जनप्रतिनिधि अस्पतालको शैयामा बिरामीसँगै बस्न थाल्छन्, तब मात्रै गणतन्त्र साँचो अर्थमा जनताको शासन बन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...