आज्ञा खबर
सर्लाही
सशस्त्र प्रहरी बल नेपालले सर्लाहीको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। भन्सार छली भारततर्फ तस्करी गर्न लागिएको १५ लाख रुपैयाँभन्दा बढीको भेप प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बलको छतौना बोर्डर आउटपोस्टले बलरा नगरपालिका–२ हथियौलाबाट ७ सय९५ थान विद्युतीय चुरोट फेला पारेको हो। सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दका अनुसार भेपहरू बीआर ०६ बीक्यू ५४२७ नम्बरको भारतीय मोटरसाइकलमा लुकाएर लैजाँदै गरिएको थियो।
तर, तस्करीमा संलग्न व्यक्ति सुरक्षाकर्मीको उपस्थिति देखेपछि मोटरसाइकल छाडेर फरार भएका छन्।
सशस्त्र प्रहरीका डिएसपी गोपीचन्द्र भट्टराईका अनुसार बरामद गरिएको भेपको अनुमानित मूल्य १५ लाख ५० हजार रुपैयाँ र मोटरसाइकलको मूल्य एक लाख रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका सामग्रीहरू थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय, मलंगवा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।
भेपको अवैध ओसारपसारविरुद्ध सीमा क्षेत्रमा निगरानी कडा पारिएको सुरक्षा निकायहरूले जनाएका छन्।
