आज्ञा खबर
धनुषा
णतन्त्र दिवसलाई विशेष र जनउत्तरदायी बनाउँदै मधेस सरकारले तीन दिने कार्यक्रमसहित गणतन्त्र उत्सव मनाउने भएको छ। प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको नेतृत्वमा जेठ १४, १५ र १६ गते विविध सामाजिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आज बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गणतन्त्र दिवसलाई “नागरिक अधिकारको स्मरण र सशक्तिकरणको दिवस”का रूपमा मनाउन लागिएको स्पष्ट पारे। उनका अनुसार तीन दिनसम्मको कार्यक्रमले जनताको सहभागिता र सन्देशलाई केन्द्रमा राख्नेछ।
सरसफाइबाट सुरु
उत्सवको पहिलो दिन आज गृह मन्त्रालय परिसरमा बिहान ६ बजेबाट सरसफाइ अभियान सञ्चालन गरिएको छ। मन्त्री लेखी स्वयं कार्यक्रमको नेतृत्वमा थिए भने प्रदेश सचिव विमलप्रसाद बराल, उपसचिव गणेश नायक, कानुन अधिकृत लक्ष्मण राई, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, र आमसञ्चार प्राधिकरण अध्यक्ष जितेन्द्र खड्गासहित थुप्रै सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। सरसफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीका सयौँ सुरक्षाकर्मीहरू पनि सक्रिय सहभागी बने।
जेठ १५: प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान
कार्यक्रमको मुख्य दिन जेठ १५ गते प्रदेशभरका प्रेस स्वतन्त्रता सेनानीहरूलाई औपचारिक सम्मान गरिने गृह मन्त्रालयले जनाएको छ। सञ्चार स्वतन्त्रताका पक्षमा आवाज उठाउने र निरङ्कुश शासनविरुद्ध लड्ने पत्रकारहरूलाई यसपटक प्रदेशस्तरमा सम्मान गरिनेछ। सम्मान कार्यक्रमको नेतृत्व गृहमन्त्री लेखीले गर्नेछन्।
मन्त्री लेखीले भने, “लोकतन्त्रको जग निर्माणमा पत्रकारहरूको योगदान अविस्मरणीय छ। उनीहरूको संघर्षलाई संस्थागत रूपमा सम्मान गर्नु हाम्रो कर्तव्य हो।”
जेठ १६: जानकी मन्दिर परिसरमा सरसफाइ
गणतन्त्र सप्ताहको अन्तिम दिन जेठ १६ गते ऐतिहासिक जानकी मन्दिर परिसरमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ। यस अभियानले धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणमा जनचेतना फैलाउने उद्देश्य राखेको छ।
