आज्ञा खबर
बर्दिवास
महोत्तरी जिल्लामा यहि जेष्ठ १८ गतेदेखि सप्ताहव्यापी सड़क सुरक्षा तथा ट्राफिक सप्ताह सुरु हुने भएको छ। ट्राफिक सचेतनालाई थप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो सप्ताहको उद्घाटन कार्यक्रम बर्दिवास नगरपालिकामा बाजागाजासहितको प्रभातफेरी, र्याली र जनचेतनामूलक सन्देशसहित सुरु गरिने बताईएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले गर्ने भएका छन।
उद्घाटन सत्र बिहान ७ बजेबाट १० बजेसम्म संचालन हुनेछ।
सप्ताहब्यापी कार्यक्रम अन्तरगत महोत्तरी जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम तय गरिएको छ। जस्तै, दैनिक जिंगल प्रसारण, पर्चा पम्पलेट र स्टिकर वितरण, तथा सवारी साधनमा ट्राफिक सन्देश टाँस्ने कार्यहरू हुनेछ।
सप्ताहको दोश्रो दिन (१९ गते) गौशला बजारमा यातायात व्यवसायी तथा मजदुरहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। त्यस्तै, स्कुल क्याम्पसमा विद्यार्थीहरूलाई लक्षित गरी जनचेतनामूलक सत्र र सवारी दुर्घटनाको संयुक्त उद्धार अभ्यास गरिनेछ। १९ गते नै दिउँसो जलेश्वरमा प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनेछ। उक्त कार्यक्रममा यातायात कार्यालय, व्यवसायी, मजदुर, रेडक्रस, स्थानीय तह लगायत विभिन्न संघ–संस्थासँग समन्वय गरिनेछ।
२० गते सवारीसाधनहरूको आन्तरिक निरीक्षण कार्य गौशला, रामगोपालपुर र जलेश्वरमा सञ्चालन हुनेछ। यसमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीय निकाय तथा भद्रभलादमीको उपस्थिति रहनेछ।
२१ गते बर्दिवासमा स्थानीय सरकारी अस्पताल तथा रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम गरिनेछ। साथै, सानिमा बैंकको सहकार्यमा बर्दिवासको औरही रोडमा आठवटा ट्राफिक सचेतनामूलक होर्डिङ बोर्डहरू जडान गरिने छन्।
२२ गते सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरिनेछ जसमा आँखा जाँच, रक्तचाप मापन तथा लागुऔषध सेवन जाँच समावेश हुनेछ। मोटरसाइकल चालकहरूले हेलमेट प्रयोग नगर्दा हुने जोखिम र चालक अनुमतिपत्र नभएर हुने क्षतिको विषयमा प्रशिक्षण गौशला नगरपालिकामा हुनेछ।
२३ गते सम्सी गाउँपालिकामा ट्राफिक सचेतना सम्बन्धी सड़क नाटक प्रदर्शन गरिनेछ। त्यस्तै, विद्यार्थी परिचालन गरी जेब्रा क्रसिङ नभएका स्थानमा सडक वारपार गर्ने अभ्यास गराइनेछ।
२४ गते अघिल्ला दिनहरूमा सम्पन्न गरीएका बिभिन्न कार्यक्रमको समीक्षा तथा सञ्चारकर्मी, यातायात मजदुरहरूसँग अन्तरक्रिया गरिनेछ। साथै, सप्ताहलाई थप व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिएका छन्।
सप्ताहको अन्तिम दिन ट्राफिक नियम पालनामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरिनेछ भने साँझ दिप प्रज्वलन गरेर कार्यक्रम समापन गरिनेछ।
