आज्ञा खबर
धनुषा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार अभियोगमा पक्राउ गरेको छ।
आयोगको टोलीले जेठ १२ गते अपराह्न १ बजे जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट कायस्थलाई नियन्त्रणमा लिएको हो। आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार, उपभोक्ता समितिहरूको नाममा आएको सरकारी रकम सांसद सिंहले आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र पत्नीको व्यक्तिगत खातामा जम्मा गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
साथै, सरकारी रकम कायस्थको खातामार्फत दुरुपयोग भएको भन्ने उजुरीको आधारमा आयोगले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपश्चात आयोगले सांसद सिंहद्वारा प्रयोग गरिँदै आएका केही विद्युतीय उपकरणहरू समेत बरामद गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
यो प्रकरणले प्रदेशस्तरीय सार्वजनिक कोषको प्रयोगमा शंकास्पद अभ्यासहरूको पुनः उजागर गरेको छ।
