आज्ञा खबर
धनुषा
मधेश प्रदेश सरकारले “एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक” योजनाको दोस्रो चरणअन्तर्गत ३२० किलोमिटर सडक निर्माणको तयारी थालेको छ। प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले सडक विस्तार गरिनेछ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका अनुसार योजनाको पहिलो चरणमा पनि यति नै लम्बाइको सडक निर्माण भइसकेको छ। दोस्रो चरणको कामका लागि आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै उनले भने, “यो चरणको लागि १३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।”
आगामी जेठ १८ गते ६४ वटै स्थानमा एकैपटक सडक शिलान्यास गर्ने तयारी गरिएको छ। यद्यपि, शिलान्यास कार्यक्रम कसबाट गराउने भन्ने टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली वा अन्य विशिष्ट व्यक्तित्वमार्फत उद्घाटन गराउनेबारे छलफल जारी रहेको मन्त्री यादवले बताए।
उनले प्रदेशको ग्रामीण क्षेत्रलाई शहरी सञ्जालसँग जोड्ने, कृषि उपजलाई सहजै बजारसम्म पु¥याउने र आपतकालीन सेवाको पहुँच बढाउने लक्ष्यका साथ सडक निर्माण अघि बढाइएको उल्लेख गरे।
“सडक सञ्जाल विस्तारले व्यापार, पर्यटन र स्थानीय उद्योगमा नयाँ ऊर्जा दिनेछ,” मन्त्री यादवले बताए, “रोजगारी सिर्जना, आर्थिक गतिविधिमा वृद्धि र जनजीवनमा सुधार ल्याउने हाम्रो उद्देश्य हो। निर्माणको गुणस्तरमा कुनै सम्झौता गरिने छैन।”
यसका साथै, मधेश प्रदेश सरकारले अर्को महत्वाकांक्षी योजना अन्तर्गत ‘मधेश सहिद लोकमार्ग’ निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा गरेर बजेट व्यवस्थापन प्रक्रियामा समेत अघि बढेको छ।
पर्सादेखि सप्तरीसम्म ३१० किलोमिटर लम्बाइको यो दुई लेनको लोकमार्ग पूर्वपश्चिम र हुलाकी राजमार्गको मध्य भाग हुँदै बन्नेछ। यी दुई राजमार्गबीचको करिब ३० किलोमिटर दूरीलाई लक्षित गर्दै सरकारको अवधारणा रहेको छ। चालु आर्थिक वर्षभित्रै टेन्डर प्रक्रिया सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री यादवले जानकारी दिए।





































