आज्ञा खबर
सर्लाही
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यस वर्ष ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लागेको छ। लालबन्दी–२ पुनर्वासस्थित सुरज निर्माण सेवाले उक्त मूल्यमा ठेक्का लिएको हो।
गत वर्ष सोही केन्द्रको आँप २१ लाख १५ हजार रुपैयाँमा ठेक्का लागेको थियो। यसपालि भने अघिल्लो वर्षको तुलनामा ३२ लाख ५६ हजार रुपैयाँ बढी मूल्यमा ठेक्का लागेको हो।
उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवका अनुसार उत्पादनको मात्रा र बजारको मागअनुसार ठेक्काको रकम घटबढ हुने गर्छ। “जब फल राम्रो फलेको हुन्छ, मूल्य पनि बढ्छ,” यादवले भने, “कम फलेको वर्ष भने मूल्य घट्ने गर्छ।”
देशकै सबैभन्दा ठूलो मानिने उक्त बागवानी केन्द्रमा करिब १०० बिघा क्षेत्रफलमा फैलिएका ६ हजार आँपका बोट छन्। यस्तै, प्रविधिकहरूका अनुसार आँप एक वर्ष धेरै फल्ने र अर्को वर्ष कम फल्ने चक्रमा जाने गर्छ।
यो वर्ष ती ६ हजार बोटमध्ये आधाजति मात्रमा फल लागेको छ। बागवानी केन्द्रमा बम्बै, मालदह, दसहरी, अम्रपारीसहित करिब ३५ प्रकारका आँपका जात छन्।
२०७८ सालमा यसै केन्द्रको आँप अहिलेसम्मकै उच्च मूल्य—एक करोड ११ लाख ६० हजार रुपैयाँमा ठेक्का लागेको थियो।
यससँगै केन्द्रको लिची पनि यसवर्ष २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लागेको छ, जुन अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। हाल ठेकेदारले लिची टिपेर बिक्री गर्न थालेका छन्।
यहाँ उत्पादन हुने लिची स्थानीय हाटबजारदेखि हेटौंडा, चितवन, काठमाडौंलगायतका सहरहरूमा पु¥याइन्छ।





































