आज्ञा खबर
बर्दिवास
मधेश प्रदेश,नेपालकै समथर भूभागमा फैलिएको एक साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधता बोकेको प्रदेश हो। परम्परागत रूपमा कृषिमा आधारित यो प्रदेश अहिले पर्यटन सम्भावनाको उज्यालो भविष्य खोज्ने यात्रा तर्फ अग्रसर भइरहेको छ । यसै समयमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशले यो सम्भावनालाई संस्थागत रूपमा अध्ययन,अबलोकन र प्रचारप्रसार गर्दै प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्न थालेको छ। त्यसैलाई मुर्त रुपदिन शनिवार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश तथा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशको आयोजनामा पर्साको बीरगंजमा अन्तरक्रिया सहितको जिल्लाको पर्यटकिय क्षेत्रको अबलोकन भ्रमण गरीएको छ । नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेशका मन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यतामा भएको अबलोकन भ्रमण हाल सम्म धनुषा बाहेकका
मधेशका ७ वटै जिल्लामा सम्पन्न भई सकेका छन ।
पर्यटक भित्त्याउन सकिने प्रचुर सम्भाबना रहेका मधेशका यी जिल्लाहरूका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको पहिचान गरी तिनको संरक्षण र प्रवद्र्धनमा महासंघ जुटेकोे छ।
महासंघका अध्यक्ष हिरालाल गौतमका अनुसार प्रत्येक जिल्लाका सम्भावित पर्यटकीय गन्तव्य पहिचान गरीएको छ । जस्मा प्राचीन मठमन्दिर, पोखरी, ताल, ऐतिहासिक स्थल, र स्थानीय स्तरमा निमार्ण भएका सम्भाबित क्षेत्र समावेश गरिएका छन।“
यी सबै गन्तव्यहरू आ–आफ्नै मौलिकतासहित पर्यटकलाई आकर्षित गर्ने सम्भावनाले भरिएका छन्। तर यि स्थलहरूको अझैसम्म पनि प्रसस्त प्रचार प्रसार भएका छैनन ।
न त आवश्यकता अनुसार पूर्वाधार विकास भएको छ।
महासंघले हाल स्थानीय तह,संघसंस्था, सञ्चारकर्मी तथा प्रदेश सरकारका निकायसँग सहकार्य गरेर अत्यधिक पर्यटक भित्र्याउने उदेश्य लिएर घुमौ मधेश बुझौ प्रदेश भन्ने नारा सहित प्रचारप्रसारको अभियान थालेको गौतमको भनाई छ,उनले भने“हामीले स्थानीय युवाहरुलाई तालिम दिएर पर्यटन गाइडको रूपमा परिचालन गर्ने योजना बनाएका छौं। उनीहरूले आफ्नै गाउँठाउँको कथा सुनाउने छन्, जसले बाह्ीय पर्यटकलाई गहिरो अनुभव दिनेछ।“
महासंघले पर्यटन मन्त्रालय मधेश प्रदेशसँग सहकार्य गरेर दीर्घकालीन योजना तयार गर्ने कार्यमा समेत चासो देखाएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारहरूले आ–आफ्नो क्षेत्रको विशेषताअनुसार योजना बनाउन सक्ने वातावरण निर्माण भएको छ। यो क्रमलाई महासंघले अवसरका रूपमा लिएको छ।
अध्यक्ष गौतमले बताए अनुसार, “प्रदेश सरकारसँगको सहकार्यले नै महासंघलाई दिगो योजना बनाउन सजिलो भएको छ। जस्ले गर्दा विकासका लागि आवश्यक बजेट, पूर्वाधार निर्माण, तथा सरकारी प्रक्रियामा सहजता आएको छ।“
मधेशको पर्यटन बिकाश मात्रै सम्पदा संरक्षण गर्ने माध्यम नभई आर्थिक समृद्धिको मार्ग पनि हो। मधेश प्रदेशमा पर्यटनको विकासले स्वरोजगार सिर्जना, स्थानीय उत्पादनको बजार, तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैक्रममा पर्साको ठोरी गाउँ पालिकामा शनिवार गरीएको अबलोकन भ्रमणका क्रममा नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष खगेन्द ्रश्रेष्ठ भन्छन्“यदि हाम्रो गाउँमा आउने पर्यटकलाई स्थानीय खाना, लोकनृत्य र गाइडको सेवा दिन पाइयो भने हामी रोजगारीका लागि बिदेश जानुपर्ने बाध्यताबाट मुक्त हुन्छौं।“
हाल मधेशका ७ वटै जिल्लाहरुको अबलोकन भ्रमणगर्दा पर्यटन विकासमा देखिएको मुख्य चुनौतीहरुमा संरचनाको अभाव, सडक सञ्जालको कमजोरी, प्रचारको अभाव, तथा स्थानीय जनशक्तिमा सीपको कमी रहेका छन्।
महासंघ यी चुनौतीहरुको समाधानका लागि विभिन्न स्तरमा पहल थाल्ने योजनामा लागेको छ। सडक पहुँच नभएका स्थलमा सरकारसँग समन्वय गरेर बजेटको माग गरिने छ। स्थानीय युवालाई प्रशिक्षण दिएर गाइड र आतिथ्य सेवामा दक्ष बनाउने कार्यक्रम गरिने छ। साथै, निजी क्षेत्रका लगानीकर्तालाई पनि आर्कषित गर्न महासंघले योजना बनाउने तयारी गरिरहेको छ।
घुमौ मधेश बुझौ प्रदेश नारासहित महासंघले सारेको यो अभियान अन्तरर्गत हाल प्रत्येक जिल्लामा कम्तिमा एक वा दुई पर्यटकीय गन्तव्यको पूर्वाधार निर्माण गर्दै
मधेशलाई नेपालकै प्रमुख आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्य बनाउने दावी महासंघको रहेको छ।
मधेश प्रदेशको समथर भूगोल, समृद्ध संस्कृति, ऐतिहासिक सम्पदा र आतिथ्य भावनाले यो प्रदेशलाई साँच्चिकै आकर्षक गन्तव्य बनाउन सक्छ। यति बेला यो सम्भावनालाई मूर्तरूप दिन नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले थालेको यो पहल साच्चिकै स्वागतयोग्य छ।
यदी प्रदेश,स्थानिय सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहकार्य भयो भने मधेश प्रदेशको पर्यटन भविष्य उज्यालो हुनुका साथै त्यसता गन्तव्यहरू केवल गन्तव्य मात्रै रहने छैनन सम्पूर्ण मधेशको परिचय बन्नेछन्। र, यसै मार्फत रोजगारी, समृद्धि, र आत्मसम्मानको मार्ग पनि खुल्नेछ।
