मधेशको सबैभन्दा ठूलो चुनौती लागुऔषध हो गृहमन्त्री लेखक

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
गृहमन्त्री रमेश लेखकले लागुऔषध समस्यालाई नेपालको सबैभन्दा ठूलो राष्ट्रिय चुनौतीको रूपमा चित्रण गरेका छन्। शुक्रबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषधका कारण सडक दुर्घटना, आत्महत्या र साइबर अपराधजस्ता विविध सामाजिक समस्याहरू उत्पन्न भइरहेको बताए।

गृह मन्त्रालय र मधेश प्रदेश सरकारअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा सम्पन्न उक्त गोष्ठीको उद्घाटन सत्रमा मन्त्री लेखकले सीमावर्ती क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधिमाथि विशेष ध्यान दिन सुरक्षानिकायहरूलाई निर्देशन दिए।
मन्त्री लेखकले मधेशका आठवटै जिल्लाको भूगोल, भाषा र सांस्कृतिक एकरूपता रहेकाले अपराध नियन्त्रण र शान्ति सुरक्षाको स्थायित्व कायम गर्न सहज हुने बताए। उनले नेपालको भौगोलिक बनावट विपद्को उच्च जोखिममा रहेकाले त्यसअनुसार सुरक्षा रणनीति निर्माण अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रहरी प्रशासनलाई प्रदेश सरकारको मातहत ल्याउने प्रक्रिया ढिलो भइरहेकोमा चिन्ता व्यक्त गरे। उनीहरूले अहिले पनि त्रिपाल र झुपडीमा बसेर सुरक्षाकर्मीहरूले सेवा दिइरहेकोप्रति संघीय सरकारको ध्यानाकर्षण गराए।

मन्त्री लेखीले सप्तरीदेखि पर्सासम्मका जिल्लाहरूमा प्रहरीका लागि आवश्यक भौतिक संरचनाको अभाव रहेको भन्दै संघीय सरकारको तत्कालीन सहयोग आवश्यक रहेको धारणा राखे।

उक्त गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, तथा बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी सहित मधेशका आठवटै जिल्लाका सुरक्षा तथा प्रशासन प्रमुखहरूको उपस्थिति थियो।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...