सडक छ लेनको, पुल भने एक लेनमै: बसही खोलाको अधुरो पुल सवारी दुर्घटनाको थलो बन्दै

[sharethis-inline-buttons]

आज्ञा खबर

जनकपुरधाम 

मधेश प्रदेशको राजधानी जनकपुरधामतर्फ जाने मुख्य प्रवेशद्वार ढल्केबर–जनकपुर ६ लेन सडकको निर्माण कार्य पूरा भइसकेको छ। तर, त्यही मार्गमा पर्ने धनुषाको ढल्केबरस्थित बसही खोलामा निर्माणाधीन पुल भने वर्षौं देखि अधुरै छ, जसका कारण सडक प्रयोगकर्ताहरूका लागि यो खण्ड सवारी दुर्घटनाको भान्साघरजस्तै बन्दै गएको छ।

पाँच वर्षअघि सुरु गरिएको पुल निर्माण अझै ४० प्रतिशतमै अड्किएको छ। २०७६ साल असार ३१ गते नागार्जुन हेम कन्स्ट्रक्सन जेभीले १४ करोड आठ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०७८ असार ३० गतेसम्म पुल निर्माण सकिनु पर्ने थियो। तर सात वर्ष पुग्न लाग्दा समेत काम रोकिएको छ।

एकातर्फ फराकिलो सडक, अर्कोतर्फ साँघुरो पुल

स्थानीयवासी रामएकवाल यादवका अनुसार, फराकिलो ६ लेनको सडकमा चालक तीव्र गतिमा सवारी चलाउँछन्, तर पुल नजिकिँदै जाँदा एक्कासि एक लेनको साँघुरो भाग देखेपछि अलमलिन्छन्। यही गडबडीका कारण पटक–पटक दुर्घटना हुन्छ।

“साप्ताहिक रूपमा दुई–तीनवटा दुर्घटना यहीं हुन्छ,” उहाँले भने। “छ लेनको बाटो भएर पनि पुल एक लेनको छ, चालकमै अलमल आउँछ।”

४५ दुर्घटना, ११ जनाको ज्यान

धनुषा ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्क अनुसार पछिल्ला दुई वर्षमा सो क्षेत्रमा ४५ वटा सवारी दुर्घटना भइसकेका छन्। तीमध्ये ११ जनाले ज्यान गुमाएका छन् भने ३४ जना घाइते भएका छन्।

तर, ट्राफिक प्रहरी निरीक्षक सूर्यबहादुर शाही भने दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही रहेको बताउनुहुन्छ। “सूचनामूलक बोर्ड राखिएका छन्, दुर्घटना पुलकै कारण भएको भन्न सकिन्न,” उहाँको भनाइ छ।

आन्दोलन, दबाब, तर सुनुवाइ छैन

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माण ढिलाइविरुद्ध स्थानीयवासीले पटकपटक आन्दोलन, सडक जामजस्ता कदम चालेको बताउनुभयो। “दुई सय मिटरको क्षेत्रमा सधैं दुर्घटनाको डर हुन्छ,” उहाँले भने, “पाँच पटक सडक डिभिजन कार्यालय गयौं, तर काम अगाडि बढेन।”

स्थानीय जनगुनासोको बाबजुद प्रदेशका मन्त्री, मुख्यमन्त्रीलगायतका उच्च अधिकारीहरू यही सडक प्रयोग गर्छन्, तर पुल निर्माणप्रति कसैको चासो नदेखिएको स्थानीयको गुनासो छ।

निर्माण कम्पनी सम्पर्कविहीन

६ लेन सडक आयोजना बर्दिवासका इञ्जिनियर उज्ज्वल झाले निर्माण कम्पनी सम्पर्कविहीन भएको पुष्टि गर्नुभयो। “दुई पटक म्याद थप गर्दा पनि काम अगाडि बढेन,” उहाँले भन्नुभयो, “पछिल्लो छ महिनादेखि त पूरै काम ठप्प छ।”

२०७६ मा ठेक्का सम्झौता भए पनि अहिले सम्मको भौतिक प्रगति ४० प्रतिशतमा सीमित रहेको उहाँको भनाइ छ। कम्पनीलाई अन्तिम स्पष्टीकरणका लागि चैत २९ मा पत्राचार गरिएको थियो, तर कुनै जवाफ आएको छैन। राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरिए पनि कम्पनीले प्रतिक्रिया दिएको छैन।

जनकपुर धाउने मुख्य सडक ६ लेनको भएर सुविधा सम्पन्न देखिए पनि बसही खोलाको अधुरो पुलले यो पूर्वाधारलाई असुरक्षित बनाइरहेको छ। स्थानीय तहदेखि प्रदेश सरकारसम्मका सम्बन्धित निकायको उदासिनता, निर्माण कम्पनीको गैरजिम्मेवारीपन र नियमन पक्षको कमजोरीले आम जनताको जीवन र सुरक्षामाथि खेलबाड भइरहेको स्पष्ट देखिन्छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...