माधव पौडेल
सम्सी
सम्सी
नेपाल सरकारद्वारा घोषित विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०८२ महोत्तरी जिल्लामा भब्यतापूर्वक मनाइएको छ । हरेक वर्ष जेष्ठ १ गतेदेखि जेष्ठ ७ गतेसम्म मनाइने पोषण सप्ताह यस पटक महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकामा पनि विद्यालय सरसफाई, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी आदि कार्यक्रम आयोजना गरी मनाइएको हो । यसैगरी विद्यालयमा पोषिलो खाना प्रदर्शनी, सरसफाई सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, सडक नाटक प्रदर्शनी, बाल ¥याली, किशोरीहरुले आइरन फोलिक एसिड चक्की सेवन सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको उक्त सप्ताहब्यापी अभियानमा गाउँपालिका, स्वास्थ्य संस्था, विद्यालयको समन्वयमा संचालन गरिएको कुरा एकीकृत ग्रामिण विकास समाजका कार्यक्रम अधिकृत भुपेन्द्र निरौलाले जानकारी दिनुभयो । वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा एकीकृत ग्रामिण विकास समाज र दलित समाज उत्थान समिति नेपालद्वारा सम्बन्धित गाउँपालिका र विद्यालयसँग समन्वय गरी उक्त पोषण सप्ताह संचालन गरिएको थियो । अभियानमा एकडारा गाउँपालिकाका १३ वटा विद्यालय र सम्सी गाउँपालिकाका ७ वटा विद्यालयका शिक्षक, विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।





































