आज्ञा खबर
गौर
गर्मीको मौसम सुरु भएसँगै रौतहट जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम तीव्र रुपमा बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला दुई साताको अवधिमा ५० जनाभन्दा बढी व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ।
स्थानीय बासिन्दाहरूले लामखुट्टेको संख्यामा अचानक वृद्धि भएको गुनासो गरेका छन्। विशेष गरी गौर नगरपालिका डेङ्गु प्रभावित क्षेत्रको अग्रपङ्क्तिमा रहेको छ। नगरपालिकाका विभिन्न वडामा सङ्क्रमितको सङ्ख्या उच्च रहेको बताइएको छ।
प्रकोप नियन्त्रण गर्न गौर नगरपालिकाले सबै वडामा फगिङ स्प्रे गर्ने योजना बनाएको छ। पालिकाका निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरका अनुसार छिट्टै सो अभियान थालिनेछ।
स्वास्थ्य संस्थाहरूमा डेङ्गुका बिरामीको चाप बढेसँगै औषधी तथा जाँच सामाग्रीको अभाव देखिन थालेको छ। स्थानिय अस्पतालले बिरामीहरूलाई समयमै उपचार दिन कठिन भइरहेको जनाएको छ।
यसैबीच, जिल्ला जनस्वास्थ्य कार्यालयले समुदायमा डेङ्गु रोगसम्बन्धी चेतना फैलाउने अभियान सुरु गरेको छ। कार्यालय प्रमुख डा. रमेश यादवले सर्वसाधारणलाई घर वरिपरि पानी जम्न नदिन आग्रह गर्दै डेङ्गु नियन्त्रणमा जनसहभागिता आवश्यक रहेको बताए।
स्थानीय बासिन्दाहरूले स्वास्थ्य सेवा सुदृढ गर्न सरकारसँग माग गर्दै डेङ्गु फैलिन नदिन तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
