आज्ञा खबर
धनुषा
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर समुदायका ३०–४० प्रतिशत महिलाहरू अझै पनि नागरिकता विहीन रहेको बताएका छन्। उनले यो अवस्थालाई “गम्भीर समस्या“ का रूपमा चिन्दै तत्काल समाधान आवश्यक रहेको उल्लेख गरे।
मंगलबार जनकपुरधाममा आयोजित ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रमलाई उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले नागरिकता अभावकै कारण मुसहर समुदाय शिक्षादेखि स्वास्थ्य र रोजगारीसम्मका मौलिक हकबाट वञ्चित भएको बताए।
“जबसम्म दलित समुदाय शिक्षाबाट पछि पर्छ, तबसम्म उनीहरू अधिकारको लडाइँ लड्न सक्दैनन्,” उनले भने, “अबको आन्दोलन कलम र किताबका लागि हुनुपर्छ।”
मुख्यमन्त्री सिंहले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई कम्तीमा एसईईसम्म पढाउन र बालविवाह रोकेर २० वर्षपछि मात्र विवाह गराउन सुझाव दिए।
कार्यक्रममा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले प्रदेश सरकारले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको बताए। उनले सबै अभिभावकलाई शिक्षामा लगानी गर्न आग्रह गरे।
ऋषिवंश एकता सेवा समाजका अध्यक्ष लोचन सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हंसपुर नगरपालिकाका पूर्व नगरप्रमुख रामज्ञान मण्डल र समाजसेवी चन्देश्वर सदाले मुसहर समुदायको सामाजिक तथा आर्थिक अवस्थाबारे धारणा राखे।
