वीरगन्ज नाकाबाट सशस्त्र प्रहरीले ८१ हजारभन्दा बढी लागु औषध ट्रामाडोल ट्याब्लेट बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
वीरगन्ज
भारतबाट तस्करी गरी नेपाल भित्र्याउन लागिएको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध सशस्त्र प्रहरीले बरामद गरेको छ। वीरगन्ज महानगरपालिका–२ स्थित छपकैयाको भकुवा नाकाबाट ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४सय९० पिस बरामद गरिएको हो। भारतीय बजारमा यसको अनुमानित मूल्य ७ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

मंगलबार बिहान भारतको रक्सौलबाट भकुवा नाका हुँदै नेपालमा लागूपदार्थ भित्र्याउने प्रयास भइरहेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले निगरानी बढाएको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले गरेका थिए।

सिंहका अनुसार, दुई जना तस्कर सिर्सिया नदी तरेर लागूऔषधले भरिएका कार्टुन बोकी छपकैयातर्फ आउँदै थिए। प्रहरीको उपस्थिति देखेपछि उनीहरू कार्टुन त्यहीँ फ्याँकेर फरार भएका थिए।

पक्राउ परेका सामग्री जाँच गर्दा प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद ट्याब्लेटहरू आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ भने फरार तस्करहरूको खोजी जारी रहेको जनाइएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...